ब्रह्माण्डको शक्तिशाली तारा सूर्यले अन्तत: अर्बौं वर्षपछि मालिक भेटेको छ । स्पेनको गालिसियाकाकी ४९ वर्षीया एन्जेलेस डुरानले खगोलीय पिण्ड सूर्यलाई आफ्नो सम्पत्तिका रूपमा दाबी गर्दै स्थानीय नोटरी पब्लिकको कार्यालयमा दर्ता गरेकी छिन् । एकजना अमेरिकी नागरिकले चन्द्रमा लगायत सौर्यमण्डलका अन्य ग्रहलाई आफ्नो सम्पत्तिका रूपमा दाबी गरेपछि आफूले पनि त्यसै गरेको डुरानले एल मुण्डो दैनिक पत्रिकाको अनलाइन संस्करणलाई बताएकी छिन् । अन्तरराष्ट्रिय सन्धिसम्झौताहरूले पनि ग्रह, नक्षत्र र तारामण्डललाई कुनै पनि राष्ट्रले आफ्नो स्वामित्वको वस्तु मान्न नहुने उल्लेख गरे पनि व्यक्तिका सम्बन्धमा ती कानून मौन रहेको उनको भनाइ छ । डुरानले कानूनको सामान्य ज्ञान भएकाले आफूले वैधानिक ढंगले दाबी गरेको स्पष्ट गरिन् । ‘जोसुकैले पनि सूर्यलाई आफ्नो दाबी गर्न सक्थ्यो । तर, मैले पहिले गरेकाले त्यो मेरो हो,’ उनले भनिन् । नोटरी पब्लिकले जारी गरेको दस्तावेजमा पृथ्वीबाट १४ करोड ९६ लाख किलोमिटर टाढा अवस्थित सौर्यमण्डलको केन्द्रमा रहेको सूर्यको मालिक्नी डुरान भएको घोषणा गरिएको छ । यहाँ रोचक पक्ष के छ भने अब डुरानले घाम ताप्नेमात्र होइन, यसको उपयोग गर्नेसँग शुल्क उठाउने भएकी छन् ।
वर्ष ६, अंक ७१, बिहीवार, १६ मंसिर, २०६७