ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगका समस्या

२०८० असोज, १०  
सम्पादकीय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

नेपालमा औद्योगिक वातावरणको आवश्यकतामा केन्द्रित रहँदै जति छलफल हुँदै गए पनि व्यवहारमा उद्योग व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गएको छ । अहिले वीरगञ्जलगायत देशका विभिन्न स्थानमा रहेका उद्योग नाफाका लागि नभई घाटा कम गर्न सञ्चालन गर्नुपरिरहेको व्यवसायीले नै गुनासो गरेका छन् । घाटा कम गर्नकै लागि मात्र उद्योग सञ्चालन हुने हो भने उनीहरू कहिलेसम्म टिक्न सक्लान् भन्ने प्रश्न अहम् छ । 

निर्यात वृद्धि गर्दै गरेका स्यानिटरी प्याड उद्योग पनि बन्द हुन थालेका छन् । अघिल्लो वर्षको तुलनामा ५८२ प्रतिशतले निर्यात वृद्धि गरेका स्यानिटरी उद्योग किन धमाधम बन्द हुन थाले भन्ने कुरा गम्भीर हो । नेपालमा प्याड उद्योगको सम्भावना देखेर लगानी गरेका उद्योगीहरू अहिले सरकारका कारण समस्यामा परेका हुन् वा अन्य कारणले यसको खोजी गर्नुपर्ने देखिएको छ । सरकार अभिभावक बनेर उद्योगीहरूको समस्या समाधान गरिदिनुपर्नेमा उल्टै समस्या थप्न लागेपछि उद्योगहरू बन्दको अवस्थामा पुगेका उद्योगी, व्यवसायीको गुनासो छ । नेपालमा साना तथा ठूला उद्योगहरू खुल्ने र बन्द हुने क्रम चलिरहेकै छ । कुनै पनि उद्योग शुरूमा असफल हुन सक्छ । व्यवसाय कसरी गर्ने, ब्रान्डिङ कसरी बनाउने, बजारीकरण कसरी गर्ने, हिसाबकिताब कसरी राख्नेजस्ता सामान्य कुरा नजानेर पनि खुलेका सानातिना उद्योगहरू बन्द हुने गरेका छन् । विगतमा दातृ संस्थाहरूको सहयोगमा लघु उद्यम विकास कार्यक्रम (मेडेप)ले लघुउद्यमीहरूलाई यसमा सहयोग गर्ने गरेको थियो । तर, मेडेप कार्यक्रम हटेपछि यस्तो सहयोग गर्ने संस्थाको अभाव देखिएको छ । स्यानिटरी प्याडजस्ता उद्योगलाई पनि यस्तो खालको सहयोग आवश्यक देखिन्छ । 

स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्नु सरकारको जिम्मेवारी हो । त्यसैअनुसार उसले नीति बनाउनुपर्छ । तर, स्वदेशी उद्योगको संरक्षणका नाममा आयातमा अत्यधिक कर लगाएर प्रतिस्पर्धारहित बनाउनु पनि हुँदैन ।

सरकारले उद्योगको कच्चा पदार्थ, सहायक पदार्थमा लाग्ने कर थोरै र तयारी मालवस्तुमा लाग्ने कर बढी गर्नुपर्नेमा त्यसो नगर्दा प्याड उद्योगहरू समस्यामा परेका हुन् । विदेशबाट आयातित अन्तरराष्ट्रिय ब्रान्डसँग मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती आफ्नो ठाउँमा छँदै छ । महिलाहरूले प्रयोग गर्ने प्याडमा कर लिएको भन्दै ‘रातो कर’ खारेज गर्न आन्दोलन नै भयो । त्यही मागलाई सम्बोधन गर्न सरकारले बजेटमार्फत स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महशुल छूटको नीति लियो । यसले गर्दा विदेशबाट आयात हुने प्याडमा नाममात्रको कर लाग्न थाल्यो । महिलाहरूको माग आफ्नो ठाउँमा उचित नै हो तर त्यो मागलाई सम्बोधन गर्दा नेपाली उद्योग मर्नुपर्ने अवस्था आयो । एउटाको माग सम्बोधन गर्दा अर्कोलाई समस्या पर्न सक्छ भनेर नसोच्नु नै सरकारको कमजोरी हो । प्याड आयात गर्दा १ दशमलव ५ प्रतिशत कर लाग्ने तर कच्चा पदार्थ आयात गर्दा त्योभन्दा निकै बढी कर लाग्ने भएपछि उद्योगहरू समस्यामा परेका हुन् । नेपाली उद्योगको कुल उत्पादन क्षमता ९० करोड भए पनि सरकारी नीतिका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । तीन दर्जनभन्दा बढी उद्योग सञ्चालनमा रहे पनि अहिले १ दर्जन जति उद्योग बन्द हुन पुगेको उद्योगीहरूको भनाइ छ । 

सानो परिमाणको भए पनि प्याड निर्यात हुनु राम्रो हो । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी विदेश निर्यात गर्दा मूल्य अभिवृद्धि हुनुका साथै धेरैलाई रोजगारीसमेत दिएको छ । प्याड उद्योगमात्र होइन, अन्य उद्योगहरूले पनि यो समस्या उठाइरहेका छन् । त्यसैले सरकारले तयारी वस्तु र कच्चा पदार्थमा लाग्ने करमा पर्याप्त अन्तर गर्नु जरुरी छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्नु सरकारको जिम्मेवारी हो । त्यसैअनुसार उसले नीति बनाउनुपर्छ । तर, स्वदेशी उद्योगको संरक्षणका नाममा आयातमा अत्यधिक कर लगाएर प्रतिस्पर्धारहित बनाउनु पनि हुँदैन । मूल्य र गुणस्तरमा प्रतिस्पर्धा हुने तर करकै कारण विदेशी सामानले सहुलियत पाउने अवस्था आउन दिनुचाहिँ हुँदैन । स्यानिडरी प्याड, कपडा, कागज, प्याकेजिङ आदि विभिन्न उद्योगमा यस्तो समस्या देखिएकाले तिनको बुद्धिमत्तापूर्ण समाधान खोजिनु जरुरी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)