काठमाडौं उपत्यकामा खानेपानीको सहज र दीर्घकालीन स्रोेतका रूपमा लिइएको मेलम्ची खोलाको पानी आउने आशा मर्दै गएको छ । परियोजना निर्माणमा सरकार, दाता तथा ठेकेदार कम्पनी कोही पनि इमानदार देखिएका छैनन् । यसले गर्दा काममा ढिलाइ हुँदै जाँदा यसको भविष्य अन्योलपूर्ण देखिएको छ । सरकारले प्रत्येक वर्ष पहिलो प्राथमिकताको आयोजनाका रूपमा राखे पनि त्यसअनुरूप कार्यान्वयन हुन नसक्दा यो आयोजनाले असफलताको नियति भोग्ने सम्भावना बढ्दै गएको छ । कृष्णप्रसाद भट्टराईले २०५६ सालमा प्रधानमन्त्री भएका बेला मेलम्चीको पानी ल्याएर काठमाडौं धोइदिन्छु भनेपछि यो योजनाले विशेष चर्चा पाएको थियो । तर, आयोजना निर्माणको कन्तबिजोग हेर्दा मेलम्चीको पानीले काठमाडौंलाई धुने त कता हो कता योजना नै पखालिने देखिएको छ । पटकपटक यसको सम्पन्न हुने मिति सारिए पनि आयोजना सम्पन्न गराउन अहिलेसम्म कुनै काम भएको छैन । यसले गर्दा आयोजना सम्पन्न हुनेमा नै शंका उत्पन्न हुने अवस्था आएको छ । आयोजना विलम्ब हुनुमा एकभन्दा धेरै कारणहरू देखिएका छन् ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक ७२, शुक्रवार, १७ मंसिर, २०६७