ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थतन्त्रको आन्तरिक अवस्था सुधारका लागि ध्यानाकर्षण

२०८० असोज, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । मुलुकको समग्र अर्थतन्त्र र आर्थिक गतिविधि चलायमान बनाउँदै समतामूलक र दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सिबिफिनले मंगलवार गभर्नर अधिकारीसँग छलफल गरेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महीनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रको बाह्य स्थितिमा उल्लेख्य सुधार भएको देखाएको छ । यद्यपि आन्तरिक आर्थिक क्रियाकलाप अपेक्षित रूपमा चलायमान हुन नसकेको भन्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले गभर्नर अधिकारीको ध्यानाकर्षण गराए । आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको गोल्यानले बताए ।

वर्तमान अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने भन्दै अध्यक्ष गोल्यानले समग्र आर्थिक क्रियाकलाप गतिशील बन्नुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)को व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदर, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिदो लाभांशलगायत विषयमा उनले गभर्नरसमक्ष लिखित सुझावपत्र पेश गरेका छन् ।

‘विगतमा छिमेकी राष्ट्रहरूको अर्थतन्त्र संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो,’ अध्यक्ष गोल्यानले भने, ‘अहिले अर्थतन्त्र सहज अवस्थामा नभएकाले उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावको औचित्य, आवश्यकता र महत्त्वलाई ध्यानमा राखेर सोही अनुसारको नीतिगत व्यवस्थाका लागि आग्रह गर्दछौं ।’ सिबिफिनको पहलमा सातै प्रदेशमा ‘बिजनेश समिट’ आयोजना हुन लागेकाले उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि उनले आग्रह समेत गरे । साथै ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक हालै प्रकाशित पुस्तक गभर्नर अधिकारीलाई हस्तान्तरण गरे ।

भेटवार्तामा गभर्नर अधिकारीले बाह्य परिसूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमश: लयमा फर्किंदै बताए । ‘आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपाय अपनाउँदै जान्छ,’ उनले भने । तंगिँ्रदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको उनले औंल्याए । राष्ट्रिय एवं अन्तरराष्ट्रय रूपमा देखापरेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै उनले त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको बताए । सिबिफिनले दिएका सुझावमा समयानुकूल निर्णय लिइने आश्वासन समेत उनले दिए । छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनका तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुशप्रसाद मल्लीलगायतको सहभागिता थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)