काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरशन नेपाल (एलआईसी)ले विभिन्न सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको बताएको छ । केही व्यक्तिको सीमित स्वार्थका लागि भ्रम, टीकाटिप्पणी र नकारात्मक सामग्री प्रकाशित भएको भन्दै कम्पनीले विज्ञप्तिमार्फत खण्डन गरेको छ ।
‘एक अभिकर्ताले बीमितको बीमाबाट योजनाबद्व रूपमा वास्तविक बीमितको स्वीकृतिविना झुक्याएर ऋण झिक्न लगाएको र आफ्नै कोडमा नयाँ बीमालेख जारी गरी सोबापत कमिशन लगायत अन्य घोषित पुरस्कार एवं इन्सेन्टिभ प्राप्त गरी दुरुपयोग गरेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । अभिकर्ताले आफू निर्दोष देखिन कमिशन तथा अन्य सुविधा रकम उपभोग गरिसकेको तथ्य लुकाइछिपाई कम्पनीलाई बदनाम गर्ने उद्देश्यले अपूरो तथ्यलाई बारम्बार केही सञ्चारमाध्यममा प्रेषित गरेको देखिएको कम्पनीको जिकिर छ ।
कम्पनी नेपाल बीमा प्राधिकरण लगायत अन्य नियामक निकायका साथै प्रचलित कानून, नीतिनियम र निर्देशिकाद्वारा सञ्चालित हुँदै आएको विज्ञप्तिमा उल्लेख छ । ‘यस कम्पनीले नेपाल बीमा प्राधिकरण एवं अन्य न्यायिक निकायबाट हुने फैसला र आदेशलाई सदैव पालना गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।