काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । यो एफपीओ खरीदका लागि लगानीकर्ताहरूले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने कात्तिक ९ गतेसम्म विक्री लम्बिनेछ । एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीको एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम ईक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ ।
कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
२०६६ पुस २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको यस कम्पनीले २०७६ असोज ७ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृतिप्राप्त गरी २०६७ असोज २५ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको नेपालभर ७७ ओटै जिल्लामा १५० ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार रहेको छ । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्