काठमाडौं । प्रिमियम मूल्य सहित असोज १४ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले बुधवार आवेदन दिने अवधि थप गर्यो । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओमा भने असोज १६ गते माग बमोजिम आवेदन नपरेको अवस्था थियो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार असोज १६ गते साझसम्म ७ लाख ३२ हजार ९५३ जना आवेदकहरूबाट ८५ लाख ६६ हजार ८४० कित्ता आईपीओ खरीद माग भएको थियो । माग बमोजिम आवेदन नपरेपछि कम्पनीले असोज २८ गतेसम्मको विक्री अवधि तय गरेको हो ।
तर, असोज १७ गते साँझसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको जानकारी सिडिएससीले दिएको छ । सिडिएससीका अनुसार असोज १७ गते साझ ५ बजेसम्म ९ लाख ८६ हजार ७५० जनाले १ करोड १७ लाख ५२ हजार २९० कित्ता आईपीओ खरीद माग गरेका छन् ।
सर्वसाधारणमा कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।
यतिबेला धितोपत्र दोस्रो बजारले समेत गति लिन नसकेको अवस्था छ । दोस्रो बजारमा सस्तोमा राम्रो कम्पनीको शेयर खरीद गर्र्ने अवसर भएकै कारण प्राथमिक बजारमा प्रिमियम मूल्यमा आईपीओ खरीद गर्न लगानीकर्ता कम इच्छुक भएको विक्री प्रबन्धकको अनुमान छ । अहिले बजारको अवस्थाकै कारण अंकित मूल्यमा आएका आईपीओमा सर्वसाधारणको आकर्षण बढी भएपनि प्रिमियम मूल्यका आईपीओमा आकर्षण कम भएको विक्री प्रबन्धकले प्रष्ट पारेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।
यी वाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरि बाँकी आईपीओ सर्वसाधारणमा जारी गरिएको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दाङ जिल्लामा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ साल जेठ १८ गतेदेखि कम्पनीले उत्पादन सुरू गरेको हो ।