ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजारको सुधार र सुदृढीकरणका लागि नयाँ स्टक एक्सचेञ्ज आउनैपर्छ

२०८० कात्तिक, १  
अन्तरवार्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found

विगत १६ वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका ताराप्रसाद फुल्लेलसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले शेयर बजारको पछिल्लो अवस्थाबारे गरेको कुराकानीको सार :

नेपाल राष्ट्र बैंकले हालै शेयर धितो कर्जाको सीमा बढायो । त्यसले बजार उकास्छ भन्ने अपेक्षा थियो । तर बजार बढ्नुको साटो अधिकांश दिन घटेको छ । कारण के हो ?

यसअघि मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा जुन १२ करोड रुपैयाँसम्म थियो । त्यसलाई व्यक्तिगततर्फ १५ करोडसम्म र संस्थागततर्फ २० करोड रुपैयाँसम्म पुर्‍याइएको छ । तर लगानीकर्ताको माग राष्ट्र बैंकले यस्तो कर्जामा कुनै पनि सीमा तोक्नुहुँदैन भन्ने हो । अहिलेको खुला बजार अर्थतन्त्रमा राष्ट्र बैंकले यस्तो सीमा राख्नु राम्रो होइन । राष्ट्र बैंक थोरै भए पनि लचक भने भएको छ । यद्यपि लगानीकर्ताको माग यसलाई खुला छाड्नुपर्छ भन्ने थियो । 

राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा परिमार्जन गरे पनि असोज मसान्तमा ब्याज तिर्नुपर्ने र चाडपर्व शुरू हुन थालेकाले पनि बजार प्रभावित भएको हुन सक्छ । राष्ट्र बैंकले १५ दिनअघि यो निर्णय ल्याइदिएको भए बजारमा सकारात्मक प्रभाव पर्न सक्थ्यो । यद्यपि कारोबार रकममा भने केही सुधार देखिएको छ । केही समयअघि १ अर्बभन्दा कमको कारोबार भएकोमा पछिल्ला दिनमा डेढ अर्ब रुपैयाँसम्मको कारोबार भएको छ । विस्तारै बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ । 

नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रिया अहिले रोकिएको छ । नेपालमा अर्को स्टक एक्सचेन्ज आवश्यक छ कि छैन ?

नेपालमा अहिले अर्को नयाँ स्टक एक्सचेन्जको आवश्यकता छ या छैन भन्दा पनि अहिलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले के के काम गर्‍यो, लगानीकर्तामैत्री कार्यक्रम ल्याउन सक्यो कि सकेन, नयाँ प्रविधि प्रयोग गरेर वित्तीय उपकरण ल्याउन सक्यो कि सकेन भन्ने जस्ता कुरा महत्त्वपूर्ण हुन्छन् । नेपाल सरकारको बहुसंख्यक शेयर भएको संस्था भएकाले नेप्सेलाई कुनै पनि खरीद प्रक्रियामा जान सार्वजनिक खरीद ऐनले पनि अप्ठ्यारो पारेको होला । एउटै मात्र स्टक एक्सचेन्ज भएकाले प्रतिस्पर्धात्मक पनि भएन । यसकारण पनि अहिलेको आवश्यकता नयाँ स्टक एक्सचेन्ज नै हो । नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ । यो आएपछि नयाँ नयाँ प्रविधि तथा वित्तीय उपकरण भित्रिनेछन् । शेयर कारोबार प्रक्रिया छिटो र सहज हुनेछ । गुणस्तरीय सेवासुविधा पाइनेछ । यसकारण पनि नयाँ स्टक एक्सचेन्ज आउनुपर्छ र प्रतिस्पर्धी भएर काम गर्नुपर्छ । यसले लगानीकर्तालाई फाइदा नै पुग्छ । 

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अगाडि बढाएको छ । ढिलो चाँडो आउँछ । त्यसपछि नेप्सेलाई पनि सुधारेर अगाडि लैजानुपर्छ । लगानीका उपकरण बढाउनुपर्छ । प्रतिस्पर्धा भएपछि पक्कै पनि राम्रो सेवासुविधा पाउन सकिन्छ । उदाहरणका लागि नेपाल टेलिकम र एनसेल हेर्न सकिन्छ ।

नयाँ लगानीकर्ता आफूले दीर्घकालीन, मध्यकालीन या अल्पकालीन कस्तो लगानी गर्ने हो, त्यसबारे स्पष्ट हुनुपर्छ ।

पछिल्लो समय शेयर लगानीकर्ताको हकहितमा खोलिएका धेरै संगठन छन् । यी सबै संघलाई मिलाएर महासंघ बनाउने कुरा पनि आएको थियो । त्यो काम किन अगाडि बढ्न 

सकेको छैन ?

शेयर बजार र लगानीकर्ता हकहितका लागि पछिल्लो समय धेरै लगानीकर्ता संघसंगठन जन्मिए । फरक परिवेश र फरक तरीकाले यी संघसंगठन आए । तर सबैको उद्देश्य नेपालको शेयर बजारको विकास, विस्तार र सदृढीकरणका लागि पहल गर्ने हो । नियामक निकायले पनि राम्रो गरोस् र प्रतिस्पर्धी भएर काम गर्न पाइयोस् भनेर संघसंस्था गठित भएका हुन् । आज ६० लाख डिम्याट खातावाहक भएको ठाउँमा दुई–चारओटा लगानीकर्ता संगठन हुनु स्वाभाविक नै हो । तर पनि लगानीकर्ताको माग र नियामकको चासो लगानीकर्ता महासंघ भइदिए राम्रो हुन्छ भन्ने छ । त्यो हाम्रो पनि चाहना हो । हामी संघसंगठन अहिले आआफ्नो ठाउँमा भए पनि एउटा महासंघ भएपछि नियामक निकाय, सरकार र सरोकारवाला अन्य निकायसँग आफ्ना कुरा राख्न र बजारका समस्या समाधानमा पहल गर्न सहज हुन्छ । यो हामीले महसूस गरेका छौं । यसका लागि कसरी अघि बढ्ने भन्ने विषयमा हामी लगानीकर्ता संघसंगठनबीच छलफल भइरहेको छ ।

निजीक्षेत्रको जलविद्युत् आयोजना विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा जाने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ?

विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि कम्पनीका प्लान्ट (विद्युत् केन्द्र) नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने अहिलेको व्यवस्था छ । यसलाई आयोजनाको प्रकृतिअनुसार ४० देखि ५० वर्षसम्म पुर्‍याउनुपर्छ भनेर अहिले अध्ययन भइरहेको छ । यसको अवधि बढाउनुपर्छ । यो भनेको कम्पनीले विद्युत् केन्द्र हस्तान्तरण गर्ने हो । कम्पनीका सहायक आयोजना चलिरहेका हुन्छन् । उदाहरणका लागि चिलिमेको रसुवागढी, सान्जेन जस्ता आयोजना चालिरहेका छन् । यसले गर्दा लगानीकर्ताले प्रतिफल पाइराख्छन् । सहायक आयोजनाले गर्दा कम्पनीको नाममा सम्पत्ति हुन्छ । त्यही कम्पनीको सम्पत्तिको आधारमा लगानीकर्ताले प्रतिफल पाउने अवस्था भए पनि सरकारको स्पष्ट खाका नआइसकेकाले लगानीकर्तामा केही अन्योल देखिएको हो ।

नयाँ लगानीकर्ताका लागि शेयर खरीद एवं विक्रीका लागि कस्तो समय उपयुक्त हुन्छ ? 

के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

नयाँ लगानीकर्ता आफूले दीर्घकालीन, मध्यकालीन या अल्पकालीन कस्तो लगानी गर्ने हो, त्यसबारे स्पष्ट हुनुपर्छ । त्यसपछि आफ्नो क्षमता अनुसार लगानीको परिमाणबारे पनि स्पष्ट हुन जरुरी छ । ‘यति रकम बराबरको लगानी गर्दा भोलि बजार घटेमा थप यति पूँजी थप्न सक्छु र बजार बढेमा यति प्रतिफल प्राप्त भएपछि विक्री गर्छु’ भनेर स्वयम्ले निर्णय लिन सक्नुपर्छ । अर्को कुरा, आफूले लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन समूह र प्राविधिक पक्षको पनि अध्ययन गर्नुपर्छ ।

जोखिम वहन क्षमतामा पनि ध्यान दिनुपर्छ । त्यस्तै कम्पनीको लाभांश बाँड्ने क्षमता कस्तो छ, विगतका वर्षमा कस्तो लाभांश दिएको थियो, वित्तीय विवरणमा नाफाको प्रवृत्ति कस्तो छ भन्ने जस्ता कुराको अध्ययन गरी लगानी गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)