ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको आर्थिक सामाजिक उत्थानमा सघाउने विकास साझेदारको प्रतिबद्धता

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको आर्थिक तथा सामाजिक उत्थानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका हुन् ।

विश्व बैंक र अन्य विकास साझेदारको सहकार्यमा अर्थ मन्त्रालयद्वारा शुक्रवार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा संयुक्त वक्तव्य अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजीक्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालको ग्रिड प्राथमिकतामा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘नेपालमा हामीले संकट थेग्न सक्ने, हाम्रो वातावरणको संरक्षण गर्ने र हाम्रा जनताको जीवनस्तर उकास्न सक्ने हरित, थप उत्थानशील र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई आत्मसात् गरेका छौं,’ अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘विकास र रोजगारी सृजनालाई गति दिन, जीविकोपार्जनलाई बलियो बनाउन र दिगो रूपमा नेपाली जनताको समृद्धिमा सघाउन नयाँ ग्रिड रणनीतिक कार्ययोजना एक नीतिगत माध्यम हुन सक्छ ।’

ग्रिड रणनीतिक कार्ययोजनाका लागि प्राप्त हुने बाह्य लगानीअन्तर्गत अनुदान र अन्य सहुलियतपूर्ण वित्तीय लगानीहरू, जस्तै– सहुलियतपूर्ण ऋण र कार्बन वित्तजस्ता नवीनतम वित्तीय लगानी छन् । बाह्य वित्तीय लगानी नेपालको सार्वजनिक बजेटको पूरकको रूपमा रहनेछ । यसले विदेशी र स्वदेशी निजीक्षेत्रको लगानीमा समेत सहयोग पुग्नेअपेक्षा गरिएको छ ।

सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजीक्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकतामा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुन: प्रतिबद्धता व्यक्त गरेका छन् ।

ग्रिड रणनीतिक कार्ययोजनाले १० ओटा प्राथमिकता प्राप्त कार्य पहिचान गरेको छ । यसमा थप उत्थानशील पूर्वाधार विकासका साथै पारिस्थितिक प्रणाली, खाद्य प्रणालीका लागि भूमि, जल तथा वनलाई बढी उत्पानदशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने लक्ष्य तय गरिएको छ । यसैगरी शहरी विकासलाई हरित बनाउने, खानेपानी तथा सरसफाइ विस्तार, वायु प्रदूषण न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवर्द्धन, यातायातको दिगोपना एवं उत्थानशीलता अभिवृद्धि, विपद् जोखिम व्यवस्थापन र विपद् जोखिम सामनाका लागि सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषय समावेश छन् ।

विश्व बैंककी कार्य सञ्चालन प्रबन्ध निर्देशक अन्ना जेर्डले दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । ‘नेपाललाई थप दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा विश्व बैंक गर्व गर्दछ, नेपालको ग्रिडसम्बन्धी अवधारणाले विकास र वृद्धिलाई केन्द्रमा राखेको छ । त्यो वृद्धिले चरम गरीबी घटाउँछ, संरचनात्मक असमानता कम गर्छ, वातावरण संरक्षण गर्छ, विकास प्रक्रियालाई दिगो र उत्थानशील बनाउँछ,’ उनले भनिन्, ‘यसले पृथ्वीमा गरीबीमुक्त समाज स्थापना गर्ने विश्व बैंकको नयाँ लक्ष्य र दूरदृष्टि हासिल गर्न मुख्य अवयव प्रदान गर्दछ ।’

ग्रिड रणनीतिक कार्ययोजनाका लगानी प्राथमिकतामा नेपालको विकास सफलताका कथालाई आधार बनाउने, सम्बन्धित क्षेत्रमा काम कारबाहीलाई तीव्रता दिने, निजीक्षेत्रको लगानी परिचालन गर्न मद्दत गर्ने र एकै समयमा उत्थानशीलता तथा समावेशीकरण सहितको दिगोपना प्रदान गर्ने लक्ष्य समावेश छन् । यसले धेरै मानिसका लागि थप रोजगारी सृजना, मानिस र उनीहरूका जीविकोपार्जनको उत्थानशीलता निर्माण, वातावरण, जलवायु, जल तथा खाद्य सुरक्षा अभिवृद्धि र थप समावेशी एवं दिगो अर्थतन्त्रका अवसर सृजनामा टेवा पुर्‍याउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)