ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारमा रू. ३१ करोडको मालाको कारोबार हुने

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। यस वर्षको तिहारमा ३१ करोड रुपैयाँ बराबरको फूल मालाको कारोबार हुने भएको छ । यस वर्षको तिहारको अवधिभर सयपत्री, मखमली, गोदावरी र यी तीनऔटै फूल मिसाएर बनाइएको मालाको ३१ करोड रुपैयाँ बराबरको हुने फ्लोरीकल्चर एशोसिएशन नेपालले अनुमान गरेको छ । सो अवधिमा करीब ४० लाख मालाको कारोबार हुने संघको अनुमान छ ।

बजार मागको ८० प्रतिशत माला आन्तरिक उत्पादन र बाँकी २० प्रतिशत माला भारतबाट आयात हुने संघले बताएको छ । मुख्यगरी भाइटीकाका लागि प्रयोग हुने सयपत्री फूलका माला ३५ लाख ओटा किनबेच हुने अनुमान गरिएको छ । त्यसैगरी मखमली फूलका ४ लाख ७५ हजार, गोदावरी फूलका २० हजार र सबै फूल मिसाइएका माला ३० हजार ओटा विक्री हुने अनुमान गरिएको संघका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष सयपत्री फूलको मालाको माग बढ्न सक्छ । गतवर्षको तिहारमा सयपत्री माला ३१ लाख ओटा किनबेच भएको थियो ।

गतवर्षको तुलनामा यस वर्ष मालाको मूल्य समेत बढ्ने अनुमान गरिएको छ । सयपत्री फूलको एउटा मालाको खुद्रा मूल्य यस वर्ष १२५ रुपैयाँसम्म पुग्ने संघले बताएको छ । गतवर्ष सयपत्री फूलको माला १०० रुपैयाँमै कारोबार भएको थियो । त्यसैगरी गोदावरी फूलको माला १ हजार रुपैयाँसम्म र मखमली फूलको मालाको मूल्य ५० रुपैयाँसम्म पर्ने बताइएको छ ।

हाल देशभर ४८ जिल्लामा २२१ हेक्टर क्षेत्रफल जमीनमा पुष्प व्यवसाय गरिएको छ, जसमा १ हजार १०० भन्दा बढी व्यवसायी संलग्न छन् । साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४४ हजार जनाले यस क्षेत्रमा रोजगारी पाएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८ लाख रुपैयाँको भएको थियो भने ३३ करोड रुपैयाँको आयात भएको थियो ।

टिकट विक्रीबाट संकलित ५० प्रतिशत रकम भूकम्पपिडितलाई

यसैबीच, फ्लोरीकल्चर एशोसिएशन नेपालले गोदावरी पुष्प मेलाबाट एकदिनको टिकट विक्रीमार्फत संकलन भएको रकमको ५० प्रतिशत रकम जाजरकोट र रुकुमका भूकम्पपीडितलाई राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । आज (आइतवार)को मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम भूकम्पपीडितको राहत तथा उद्धारका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने एशोसिएशनले बताएको छ । साथै आफ्ना सक्रिय सदस्यलाई समेत आफ्नो व्यक्तिगत क्षमता अनुसार सहयोग गर्न पनि संघले आग्रह गरेको छ । कात्तिक १४ गतेदेखि जावलाखेलथित खेल मैदानमा जारी मेला आइतवार सम्पन्न हुँदै छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)