काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ)को सहयोगमा लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न ‘अगोरा’ प्लेटफर्ममा आबद्ध भएको छ । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । शुक्रवार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धता सम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गरेका हुन् । अगोरा प्लेटफर्ममा आबद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो ।
सो समझदारीसँगै परिसंघले नेपाली उद्योगहरूको लगानी प्रवर्द्धनका लागि अगोरा प्लेटफर्म अगाडि बढाउनेछ । परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । साथै नेपालका उद्यमी एवं व्यवसायीलाई उद्यमशीलता विकासका लागि आवश्यक पर्ने वित्तीय सहायतासहित विशेषज्ञता आवश्यकताका आधारमा दिइने बताइएको छ ।
‘अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसर सृजना गर्दै स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्ने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।