ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ८ वर्षपछि दोहोरियो विपत्ति : मध्यरातको भुइँचालोले १५७ को निधन, ३७५ घाइते

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं।नेपाल साढे आठ वर्षपछि उस्तै खालको प्राकृतिक विपत्तिको चपेटामा परेको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको आठ वर्ष ६ महीनापछि कर्णाली प्रदेशका जाजरकोट र पश्चिम रुकुम विनाशकारी भूकम्पको चपेटामा परेका हुन् । शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भुइँचालो (भूकम्प) गएको हो । उक्त भुइँचालोले भत्काएका भौतिक संरचनामा च्यापिएर १५७ जनाको निधन भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार शनिवार साँझसम्म जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ५२ जनाको निधन भएको छ । ३७५ जना घाइते भएका छन् । भूकम्पको केन्द्र बनेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार सो ठाउँका भौतिक संरचनामा ठूलो क्षति भएको छ । झन्डै एक हजार परिवार विस्थापित भएका छन् । उनीहरूका घर पूर्णरूपमा क्षतिग्रस्त छन् । थप १५ सय घर जोखिमा छन् । थाप्लेचौर, नलगाडमा पनि भूकम्पले विनाश मच्चाएको छ । 

पश्चिम रुकुमका सानीभेरी, आठबिसकोट, मुसीकोट लगायतमा भौतिक र मानवीय क्षति भएको छ । घाइतेको सुर्खेत, नेपालगञ्जसहित काठमाडौंमा उपचार भइरहेको छ । 

२०७२ को विनाशकारी भुइँचालोले ८ हजार ९७० जनाको ज्यान लिएको थियो भने १९५ जना बेपत्ता भएका थिए । प्रकृतिको उक्त विनाशलिलामा २२ हजार ३०२ जना घाइते भएका थिए । २०७२ को भूकम्पले लाखौंको संख्यामा निजी घर, सरकारी कार्यालय, विद्यालय, मठमन्दिर, गुम्बालगायत भौतिक संरचना भत्काएको थियो । शुक्रवार जाजरकोटको मुख्य भूकम्पपछि ४ म्याग्निच्युडभन्दा ठूला दर्जनभन्दा बढी धक्का महसूस गरिएको छ । मुख्यभूकम्पको धक्का राजधानी काठमाडौंदेखि भारतको नयाँ दिल्लीसम्म महसूस गरिएको थियो । 

जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रबाट विवरण आउन बाँकी रहेकाले हताहतिको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पाँच सय वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई केही समययता ठूला भूकम्पले हल्याइरहे पनि यति धेरै जनधनको क्षति भएको थिएन ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई राहत, पुन:स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले भूकम्प प्रभावितको उद्धार, राहत र पुन:स्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजीक्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गर्नुभएको छ ।

प्रधानमन्त्री शनिवार बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्पप्रभावित क्षेत्र पुग्नुभएको थियो । विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

भूकम्पग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएका प्रधानमन्त्री दाहालले आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेको उद्धार गर्नुभएको थियो । उहाँले जाजरकोट र रुकुम पश्चिमका विभिन्न अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पीडितलाई नआत्तिन आग्रह गर्नुभएको थियो । 

तीनै तहका सरकार शनिवार बिहानैदेखि उद्धारमा खटिएका थिए । संघीय सरकारले भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको छ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुनेछ ।

प्रदेश सरकारहरूबाट सहयोग घोषणा

प्रदेश सरकारहरूले भूकम्पपीडितका लागि सहयोग घोषणा गरेका छन् । कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ र आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शनिवार बसेको बैठकले भूकम्पपीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले जानकारी दिएका छन् । 

मुख्यमन्त्री कार्कीका अनुसार भूकम्पपीडितका लागि हजार–हजार थान कम्बल, त्रिपाल र मेट्रेस पठाउने निर्णय भएको छ । 

लुम्बिनी प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई राहतस्वरुप १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मुख्यमन्त्री चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गरी दाङका मेडिकल सुपरिटेन्डेट डा. पदमराज अधिकारीको नेतृत्वका २० जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले तत्काल १ करोड रुपैयाँ र स्वास्थ्य सामग्रीसहित २० जना चिकित्सकको टोली पठाउने निर्णय गरेको छ । शनिवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितको राहतका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ । बागमती प्रदेश सरकारले तत्काल प्रभावकारी उद्धार, राहत र पुनर्निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले विपतको समयमा कर्णाली प्रदेश सरकारमार्फत भूकम्प प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

भूकम्प प्रभावितका लागि अन्तरराष्ट्रिय समुदायले पनि सहयोग घोषणा गर्न थालेका छन् । छिमेकी चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले त्यसको जानकारी दिए ।

साउथ एशियन कन्ट्रिज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाइ छ । राहत सामग्रीमा टेन्ट, ब्ल्यांकटलगायत सामग्री छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने जानकारी दिँदै उनले थप राहत पनि घोषणा गरिने बताए ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई शनिवार एक पत्र पठाउँदै पुटिनले भूकम्पपीडितका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । अमेरिका र भारतले जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघले तत्काल राहतका लागि १० लाख रुपैयाँ दिने बताएको छ । त्यसै गरी बुद्ध एयरले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)