काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट भूकम्पबाट पीडित नागरिकलाई सहयोगका लागि आग्रह गरेको छ । दुवै संस्थाले शनिवार विज्ञप्तिमार्फत राहत, उद्धार र सहयोगका लागि अनुरोध गरेका हुन् । महासंघले भूकम्प प्रभावितका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । महासंघले प्रभावित जनतालाई आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य संघसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो ।
गए राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पले त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासंघले दु:ख व्यक्त गरेको छ । महासंघले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महासंघले सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी व्यवसायी र व्यावसायिक संघसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ । भूकम्प प्रभावित जनताको सहयोगका लागि महासंघले आफ्ना तर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरूका लागि महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ ।
यसैबीच, भूकम्पबाट भएको धनजनको क्षतिप्रति एनआरएनएले दु:ख व्यक्त गरेको छ । साथै तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प सम्बन्धी सचेतना, जोखिम न्यूनीकरण, पुनर्निर्माण तथा पुन:स्थापना लगायतका काममा संघले नेपाल सरकारसँग सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ । भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि सघाउन तथा आर्थिक लगायत अन्य आवश्यक सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद् तथा संसारभरि रहेका गैरआवासीय नेपालीलाई संघले आग्रह गरेको छ ।