काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । यससँगै परिसूचक १ दशमलव १६ प्रतिशत अर्थात् २१ दशमलव ४६ अंक घटेर १ हजार ८२६ दशमलव २३ विन्दुमा झरेको हो । यो करीब ६ महीनायताकै न्यून विन्दुमा हो । यसअघि गत जेठ १ गते नेप्से परिसूचक १ हजार ८१८ दशमलव ३१ विन्दुमा थियो ।
बैंकहरूको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि शेयर बजार झन् उच्च अंकमा घटेको छ । प्रथम त्रैमासमा बैंकहरूले नाफा बढाउन सकेनन् । अधिकांशको कम्पनीहरूको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको छ । इम्पेयरमेन्ट चार्जबापत बैंकहरूले ठूलै रकम छुटयाउनुपरेको देखिन्छ । यसरी नाफा प्रभावित हुँदा त्यसको प्रभाव आइतवारको शेयर बजारमा देखिएको छ ।
निरन्तर घटेको बजारलाई उकास्न प्रथम त्रैमासको रिपोर्टले सहयोग गर्न सक्ने आशा लगानीकर्ताले गरेका थिए । तर, बैंकहरूको नाफा प्रभावित हुँदा बजारले सकारात्मक संकेत दिन नसकेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ४९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७८ प्रतिशत घटेको छ । २८९ धितोपत्रको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर ३९ हजार ३२२ पटकमा रू. ९७ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ६१४ पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा रहेको तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ५ दशलमव ४७ प्रतिशत बढेर रू. ७११ दशमलव ९० पुगेको छ ।
आइतवार हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५६७ मा झरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा घटेसँगै विक्रेता हावी भएकाले शेयर मूल्य घटेको हो ।
शेयर मूल्य घट्ने दोस्रोमा बाराही हाइड्रोपावरको शेयर मूल्य ७ दशलमव ९८ प्रतिशत घटेर रू.३८६ दशमलव ५० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको संस्थापक शेयरको भएको छ । कम्पनीको रू. ४ करोड ६० लाख बराबरको संस्थापक शेयरको कारोबार भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको रू. ३ करोड १७ लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशत बढेको छ भने बाँकी समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको परिसूचक २ दशलमव ११ प्रतिशत घटेको छ ।