ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जाजरकोट भूकम्प : नलगाडको चोचे टोलका सबै घर ध्वस्त, तिहार मनाउन फर्किएकाहरूको एकै चिहान !

२०८० कात्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : रासस

भेरीगङ्गा (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आशिंक रुपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका हुन् ।

खलङ्गाबाट डेढ घण्टाको दूरीमा रहेको यो गाउँका बाँकी रहेका अन्य घर पनि बस्न नमिल्ने गरी चिराचिरा परेका छन् । यहाँका सबै घर ध्वस्त भइसकेका छन् । पीडित अविलाल विकले भने, ‘हाम्रो यो गाउँमा अधिकांश दलित समुदाय बस्दै आएका थियौं, वर्षामा समेत पहिरोले जोखिम पारेको हाम्रो टोललाई अस्ति आएको भूकम्पले स्वाहा नै बनायो ।’ 

अहिले यो टोलका सात सय व्यक्ति घरबारविहीन भएको उनले बताए । विकले भने, ‘हामी घरबारविहीन भयौं । आफन्त गुमायौं, खानेकुरा घरमै पुरियो, लाउने कपडा पनि पुरियो, अस्तिदेखि भोकभोकै छौं । केटाकेटी चिसोले हैरान भइसके ।’

चोचे गाउँका अन्य व्यक्तिको पीडा पनि उनको जस्तै छ । उनीहरूले अब आफन्त गुमाए पनि बाँचेकाको लागि गाँस र बाँसको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । 

चोचे टोलमा १४ जनाको मृत्यु 

यो टोलमा भूकम्पमा परी १४ जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । 

मृत्यु हुनेमा पाँच बालबालिका, सात २० वर्ष माथिका र अन्य दुईजना ज्येष्ठ नागरिक रहेको प्रहरीले बताएको छ । १३ जनाको भूकम्पमा परी घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । मृत्यु भएका अधिकांश व्यक्ति भारतमा रोजगारीका लागि गएर फर्किएका थिए । 

स्थानीयवासी हीरा चंदाराको भदै तिहार मनाउन भारतबाट घर आएकी थिइन् । चाडबाडमा रमाइलो मनाउन गाउँ फर्किएकी उनको भूकम्पमा परी मृत्यु भयो । 

केही घरका त परिवारका सबै सदस्यको मृत्यु भएको छ । भिउसन कुमाइँको चार जनाको परिवारको भूकम्पमा परेर मृत्यु भएको छ । भकम्पमा परेर मृत्यु भएका यो गाउँका १३ जनाको दाहसंस्कार हुनसमेत ढिलाइ भएको थियो । उनीहरूलाई निकाल्न नै समय लागेकाले दाहसंस्कार आज गरिएको हो । 

यो गाउँका पीडितलाई राहत र पुनःस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने कर्णाली प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)