नेपाल १० वर्षपछि टी–२० विश्वकप फाइनलमा खेल्न पाउने भएको छ । यद्यपि आइतवार भएको एशिया छनोट फाइनल उपाधि ओमानले सुपर ओभरमा जितेको छ । नेपालले विश्व कप खेल्न पाउनु निकै ठूलो उपलब्धि हो । तर, यसका लागि आवश्यक पूर्वाधार र खेल अभ्यास भने पर्याप्त मात्रामा व्यवस्था हुन सकेको छैन । अब नेपालले क्रिकेट विश्वकपमा नेपाल शक्तिशाली बनेको सन्देश दिने गरी खेल्न रणनीति बनाउन थाल्नुपर्ने देखिन्छ ।
नेपालले क्रिकेटमा राम्रो उपलब्धि हासिल गरे पनि त्यसअनुसार पूर्वाधार बन्न सकेको छैन । अहिलेसम्म गतिलो रंगशाला बनेको छैन । शुक्रवार मूलपानी रंगशालामा भएको खेल हेर्न स्थान अभाव भएकाले दर्शकहरूले सर्वसाधारणको छतमा जानु परेको थियो । यसले एकातिर नेपालमा क्रिकेटप्रतिको आकर्षण निकै बढेको देखाउँछ भने अर्कातिर रंगशालाको अपर्याप्तता पनि देखाउँछ । त्यतिमात्र होइन, नेपाली खेलाडीले राम्रो खालको ब्याटसमेत पाउन नसकेकाले खेलप्रति सरकारको दृष्टिकोण कस्तो रहेछ भनेर स्पष्टै देखिन्छ । खेल जितेपछि बधाइ दिन र पुरस्कारको घोषणामा प्रतिस्पर्धा देखिए पनि दिगो रूपमा खेलको स्तर बढाउन आवश्यक काम भने गरेको देखिँदैन ।
त्यति बेला मात्रै खेलाडीले बढीभन्दा बढी कुशलता प्राप्त गर्छ जति बेला उसले बढीभन्दा बढी प्रतिस्पर्धाहरूमा भाग लिन पाउँछ । त्यसका लागि मुलुकभित्र निरन्तर प्रतिस्पर्धा भइरहनुपर्छ । त्यसो हुँदा खेलाडीका लागि आवश्यक खानपिनको समेत व्यवस्था हुन्छ । प्रतिस्पर्धा नहुँदा सरकारले उपलब्ध गराउने पैसाले मात्रै खेलाडीको आवश्यकता पूरा हुन सक्दैन । त्यसैले मुलुकभित्र विभिन्न खाले प्रतियोगिता हुनुपर्छ । यस्ता प्रतियोगिताहरूको प्रायोजन गर्न सरकारी र निजी कम्पनीहरू तयार हुनुपर्छ जसका लागि सरकारले कम्पनीहरूलाई कर छूट दिनुपर्छ । यसो भयो भने खेलको प्रायोजन गर्न प्रतिस्पर्धा हुन्छ । क्रिकेट खेल महँगो मानिन्छ । त्यसैले यसका लागि चाहिने सामग्रीको पनि प्रायोजन गरिनुपर्छ । नेपाली खेलाडीले भारतीय खेलाडीसँग ब्याट माग्नुपर्ने अवस्था आउनु भनेको विडम्बना नै हो । यस्तो अवस्थामा खेलाडीले कुन मनस्थितिमा खेल्ला ?
खेल जित्न आवश्यक प्रशिक्षणका साथै उच्च मनोबल पनि आवश्यक हुन्छ । प्रतिस्पर्धी मुलुकका खेलाडीले पाउने सुविधा, अभ्यासको मौका आदि हेर्दा खेलाडीको मनोबल कमजोर बन्न सक्छ । तैपनि विश्ववरीयतामा परेका मुलुकसँग नेपालले राम्रो खेलेर प्रभाव पार्न थालिसकेको छ । त्यसैले अब विश्व कपका लागि तयारी थाल्नुपर्छ ।
विश्व कपको तयारीका लागि आन्तरिक प्रशिक्षण त भइ नै हाल्छ । तर, खेलाडीलाई आवश्यक पर्ने स्तरीय खेलकुद सामान तत्कालै उपलब्ध गराइनुपर्छ । तिनको प्रायोजन गराउन पनि सकिन्छ । ६ महीनाजति समय बाँकी रहेकाले खेलाडीलाई पूर्ण व्यस्त गराउनुपर्छ । साथै, कतिपय देशलाई आमन्त्रण गरेर मैत्रीपूर्ण खेल पनि गराउन सकिन्छ । त्यसो गर्दा अन्य देशका खेलाडीको कौशल राम्ररी बुझ्ने अवसर मिल्छ । विश्वकपमा खेल्ने देशहरू अन्तरराष्ट्रिय खेलमा धेरैपटक खेलिसकेका हुन्छन् जसको दाँजोमा नेपालले त्यस्तो मौका पाएको छैन । राम्रो तयारी गर्ने हो भने नेपालले विश्वकपमा आफ्नो हैसियत निकै माथि उठेको प्रमाणित गर्न सक्छ । यसले गर्दा नेपाली क्रिकेटरले अन्य देशका क्लबहरूमा अनुबन्धनको मौका पनि पाउँछन् । मुलुकको अर्थतन्त्रलाई गति दिन खेल पनि एउटा माध्यम हो । विश्वकप छनोट खेलकै लागि अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले ३ लाख डलर उपलब्ध गराएको थियो । त्यसैले बधाई ज्ञापन गर्ने औपचारिकतामा मात्र नलागेर सरकारले तुरुन्तै विश्वकपका लागि केकस्तो सहयोग गर्नुपर्छ तुरुन्तै त्यसतर्फ काम थालिहाल्नुपर्छ ।