काठमाडौं। जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर शुक्रवार राति गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य सकिएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले आइतवार पनि खोज तथा उद्धार कार्य जारी राखे । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतले भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य सके पनि राहत र पुन: स्थापनाको काम बाँकी छ ।
राहत सामग्री नभएर ढिलाइ भएको भने होइन । सरकारले प्रभावित क्षेत्रमा हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करीब १० हजार केजी अतिआवश्यक सामग्री ढुवानी गरेको बताएको छ ।
विभिन्न संघसंस्था, दलहरू, दातृ निकायले सहयोग सामग्री उपलब्ध गराउन थालिसकेका छन् । आइतवार राहत तथा प्राथमिक उपचारका सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ । विशेष विमानको पहिलो खेपमा टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायत अत्यावश्यक ११ टनभन्दा बढी सामग्री आएको भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिएका छन् ।
उनले ती सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरे । सोमवार अर्काे विमान पनि स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु लिएर आउने उनले जानकारी दिए ।
अधिकांश भूकम्पपीडित घरनजिकैको बारीमा त्रिपाल टाँगेर बसेको र बढ्दो चिसोको चपेटामा परेको बताइएको छ । सरकारले पहिलो प्राथमिकता उद्धारलाई दिएको र अब राहत वितरणलाई तीव्रता दिइने बताएको छ । सरकारले राहत सामग्री वितरण आइतवारदेखि शुरू भइसकेको पनि बताएको छ । दुई दिनभित्र सबै पीडितलाई राहत सामग्री वितरण गरिसक्ने जाजरकोटमा रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बताए । ‘दुई दिनभित्र सबै भूकम्पपीडितसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौं,’ उनले भने, ‘जसरी घाइतेको उद्धार गरेका छौं सोही गतिमा राहत वितरण गर्छौं ।’ उनका अनुसार राहतलगत्तै पुन: निर्माणको काममा शुरू हुनेछ ।
आइतवार गृहमन्त्रीसहित संघीय सरकारका मन्त्रीहरू जाजरकोट सदरमुकाम खलंगा पुगेका थिए । उनीहरूले पीडितले सरकारको अभिभावकत्व महसुस गर्ने गरी राहत र उपचारको व्यवस्थापन गर्न निर्देशन दिए । भूकम्पपछिको राहत तथा उपचार व्यवस्थापनको अनुगमन र प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि खलंगा पुगेका थिए ।
यसैबीच गृह मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त घरधुरीको संख्या सार्वजनिक गरेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार जाजरकोटमा सबभन्दा बढी ९०५ घर पूर्णरूपमा क्षतिग्रस्त छन् । २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ । रुकुम पश्चिममा भूकम्पबाट २ हजार १३६ घर पूर्ण क्षतिग्रस्त छन् । २ हजार ६४२ मा आंशिक र ४ हजार ६७० मा सामान्य क्षति भएको छ । प्रारम्भिक विवरणले रुकुममा २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखाएको छ । त्यस्तै रुकुमपूर्वमा ५ ओटा घर पूर्ण रूपमा क्षतिग्रस्त र ११८ घरमा आंशिक क्षति भएको छ ।
सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासीपूर्व र दैलेखमा १/१ घर क्षतिग्रस्त छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १/१ घर सामान्य क्षतिग्रस्त छन् । गृह मन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ मा जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लाका ३/३ जना छन् । सरकारले उद्धारकार्यका लागि सशस्त्र प्रहरी बलका ४ सय ८५, नेपाल प्रहरीका ८ सय ७४ र नेपाली सेनाका २ सय २ जनशक्ति परिचालन गरेको छ । गृह मन्त्रालयले जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी रहेको जनाएको छ । भूकम्पबाट अवरुद्ध भएका जाजरकोट र रुकुम पश्चिमका सडक सञ्चालन गरिएको छ ।
एक वर्षभित्र भूकम्प प्रतिरोधी संरचना बनाइने
जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले १ वर्षभित्र भूकम्प प्रतिरोधी संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ ।
आइतवारको मन्त्रिपरिषद् बैठकले शहरी विकास मन्त्रालयमार्फत जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । पुनर्निर्माणको बेलासम्मका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोवासको लागि टहरा निर्माण गर्ने पनि सरकारको निर्णय छ । मृतकका परिवारलाई सरकारले तत्काल प्रतिमृतक २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । छिमेकीलगायत मित्र राष्ट्र र अन्तरराष्ट्रिय संघसंस्थाबाट औपचारिक रूपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।