काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । यसअघि कात्तिक २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्ने मिति तय गरिएकोमा तिहारको बिदालाई ध्यानमा राखी मङ्सिर ४ गतेदेखिको मिति तय गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर १८ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारणमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो ।
पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता, कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।
धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो । यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ ।
यो कम्पनी २०७८ असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्