शेयरबजारमा आपूर्ति बढेको भन्दै यसलाई कम गर्न केही लगानीकर्ताले आवाज उठाएपछि नेपाल धितोपत्र बोर्ड कम्पनीहरूले सर्वसाधारणका लागि जारी गर्ने प्राथमिक निष्कासन (आइपीओ)मा कडाइ गर्ने दबाबमा देखिन्छ । आईपीओ रोक्न कानूनत: नमिल्ने भएकाले कुनै कानुनी छिद्र प्रयोग गरेर यसलाई कम गर्न लागेको बताइएको छ । यो कदम पूर्ण रूपमा प्रतिगामी भएकाले बोर्ड यस्तो बाटोमा लाग्नु हुँदैन । अहिले आएको तर्क शेयरबजारको मान्यता र सिद्धान्तविपरीत छ । पहिलो कुरा त आपूर्ति बढेकाले बजार घट्यो भन्ने तर्क नै गलत छ । कम्पनीको आधारभूत पक्ष बलियो हुने हो र राम्रो लाभांश बाँड्न सकेको छ भने कम्पनीको शेयरमूल्य ह्वात्तै घट्दैन । केही मात्रामा तलमाथि हुन्छ जुन स्वाभाविक हो । बजार घट्यो भनेर त्यसलाई कृत्रिम तरीकाले बढाउन खोज्नु भनेको शेयरबजारलाई बिगार्नु हो । त्यसैले आपूर्ति बढ्दा बजार घट्यो भन्ने तर्क बाहियात हो । अहिले बजार घट्नुमा आपूर्ति बढ्नु कारण होइन, कम्पनीहरूको लाभांश क्षमता कमजोर हुनु हो । शेयरबजार भनेकै जोखीमले भरिएको क्षेत्र हो । जोखिम नलिने हो भने यसमा लगानी गर्नु हुँदैन । जोखिम बढी भएकै कारण मुनाफाको सम्भावना पनि बढी हुन्छ । नेपालका शेयरबजारमा लगानी गर्नेहरूमध्ये धेरैमा शेयरबजार भनेको कमाइमात्र हुने ठाउँ हो भन्ने सोच छ जुन गलत हो ।
कम्पनीहरूले यति काम सकेर आईपीओबाट पैसा उठाएर बाँकी काम गर्छु भनेर योजना बनाएका हुन्छन् । आईपीओ रोकिदिने हो भने उनीहरूको योजना असफल हुन्छ ।
अर्को, अहिले अकस्मात् आईपीओ निष्कासन रोक्नु वा ढिलाइ गर्नु भनेको कम्पनीहरूलाई समस्यामा पार्नु हो । कम्पनीहरूले यति काम सकेर आईपीओबाट पैसा उठाएर बाँकी काम गर्छु भनेर योजना बनाएका हुन्छन् । आईपीओ रोकिदिने हो भने उनीहरूको योजना असफल हुन्छ । लगानी नजुट्दा कम्पनीको काम ढिला हुन्छ जसले गर्दा लागत बढ्नुका साथै अन्य समस्या पनि आउँछन् । यसरी अकस्मात् नीति परिवर्तन गर्नु भनेको नेपालमा लगानीको वातावरण छैन है भन्नुसरह हो । त्यसैले यस्तो प्रतिगामी काम गर्नु हुँदैन ।
बोर्डले मापदण्ड पूरा गरेको जोकोहीलाई शेयर दलालका लागि स्वीकृति दिने नीति लिएर लाइसेन्सराज अन्त्य गरेको भनी उसको प्रशंसा भएको थियो । त्यसैले स्वतन्त्र बजारको अवधारणाविपरीत बोर्डले आईपीओ रोके पुन: लाइसेन्सराजलाई नै बढावा दिएको ठहर्छ । यसले बोर्डको छविलाई समेत बिगार्छ । अत: बोर्ड आपूर्ति बढेकाले बजार घटेको भन्ने हावादारी तर्कबाट प्रभावित हुनु हुँदैन ।