ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै 

२०८० कात्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बढेको बैंकहरूको खराब कर्जा व्यवस्थापन गर्न सकिने अवस्थामा नै रहेको बैंकरहरूले दाबी गरेका छन् । जोखिमबापत छुट्ट्याउनुपर्ने रकम बढ्दा खराब कर्जा बढेको र यसले सजग हुनुपर्ने अवस्था भने देखिएको उनीहरूको भनाइ छ । 

‘गत आर्थिक वर्ष (आव) को अन्त्यमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २ दशमलव ९८ प्रतिशत रहेकोमा चालू वर्षमा ३ दशमलव ६१ प्रतिशत पुगेको छ,’ सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले भने, ‘यो व्यवस्थापन गर्न सकिने तहमा छ, तर बैंकहरूले सजग हुनुपर्ने भएको छ ।’ दक्षिण एशियाका देशहरूको तुलनामा नेपाली बैंकहरूको खराब कर्जा कम रहेको उनले दाबी गरे । 

कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धका कारण आर्थिक गतिविधिमा कमी आउँदा बैंकिङ क्षेत्रमा पनि असर देखिन थालेको अध्यक्ष केसीले बताए । कोभिड प्रभावबाट बचाउन कर्जाको पुन: संरचना र पुनर्तालिकीकरण गर्दा बैंकहरूको वित्तीय विवरण सहज देखिए पनि विस्तारै प्रभाव देखिन थालेको उनको भनाइ थियो । गतवर्षसम्म नेपाल राष्ट्र बैंकले कर्जा पुन: संरचना र पुनर्तालिकीकरणको सुविधा दिएको थियो । तर, चालू वर्षमा निर्माण क्षेत्रमा प्रवाह भएको कर्जा र ५ करोड रुपैयाँभन्दा सानो कर्जा मात्र पुनर्तालिकीकरण गर्न पाउने सुविधा दिएको छ । यसैगरी आर्थिक गतिविधिमा कमी आउँदा कर्जा असुलीमा समेत समस्या हुन थालेको बैंकरहरूले बताएका छन् । 

यसैगरी लामो समयपछि चालू आवको प्रथम त्रैमासमा वाणिज्य बैंकहरूको नाफा पनि पोहोरको तुलनामा घटेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बैंकहरूको नाफा २८ प्रतिशतले घटेको अध्यक्ष केसीले बताए । चालू आवको पहिलो त्रैमासमा एउटा बैंकको नाफा ऋणात्मक भएको, १३ ओटाको घटेको र ६ ओटाको सामान्य वृद्धि देखिएको उनले जानकारी दिए । यस अवधिमा बैंकहरूले जोखिम व्यवस्थाबापत छट्ट्याउनुपर्ने रकम १६ अर्ब रुपैयाँले बढेको र यसले बैंकहरूलाई नै बलियो बनाउने उनले दाबी गरे । 

पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकहरूको खराब कर्जा नबढ्ने बताए । बैंकहरूको खराब कर्जा व्यवस्थापनका लागि सरकारले विशेष नीति लिनुपर्ने उनको सुझाव छ । खराब कर्जाको दीर्घकालीन समाधानका लागि सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने प्रावधान ल्याउन उनले माग गरे । पत्रकार सम्मेलनमा संघले जाजरकोट भूकम्पबाट पीडितलाई सहयोगार्थ बैंकहरूबाट राहत संकलन शुरू गरेको र सोमवारसम्ममा ५ करोड रुपैयाँको प्रतिबद्धता आएको जानकारी दियो । यसै गरी संघको आयोजनामा आगामी बिहीवार र शुक्रवार नेपालमा हुने एशियन बैंकिङ कन्फेरेन्सको तयारी पूरा भएको पनि अध्यक्ष केसीले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)