काठमाडौं। नेपाललाई वैवाहिक पर्यटनको गन्तव्यको रूपमा अघि बढाउन यहाँ आउनेहरूका लागि भन्सार र अध्यागमनमा सहजीकरण गरिने भएको छ । नेपालमा पहिलोपटक आयोजना भएको ‘नेपाल–इन्डो वेडिङ समिट–२०२३’ मा सम्बन्धित सरकारी अधिकारीले सहजीकरण गरिने बताएका हुन् ।
नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल पर्यटन बोर्डको समन्वय, भारतको प्रतिष्ठित व्यावसायिक समूह द बुलको डिजाइन र व्यवस्थापन तथा बुल इभेन्ट्स म्यानेजमेन्ट नेपालको आयोजनामा काठमाडौंमा भएको सम्मेलनमा यस्तो धारणा राखिएको हो । विवाहलाई पर्यटनसँग सम्बन्धित उद्योगका रूपमा परिभाषित गरेर नेपाललाई प्रमुख विवाह गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको थियो ।
कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विदेशबाट नेपालमा आयोजना गरिने विवाहका लागि सहजीकरण गर्न भन्सार विभाग तयार रहेकोे बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले सुन तथा अन्य सामग्री ल्याउन र लैजान छुट्टै प्रावधान रहेको भन्दै अन्य विषयमा सहजीकरण गर्न सकिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपालमा विवाह पर्यटनको प्रचुर सम्भावना रहेको बताए । नेपालमा पहिलोपटक यस्तो कार्यक्रम गरिएको र अब यसलाई वार्षिक कार्यक्रमको रूपमा आयोजना गर्ने सोच रहेको उनको भनाइ छ । होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालका होटलहरू विभिन्न खालका ठूला कार्यक्रम गर्न सक्षम रहेको उल्लेख गरे ।
भारतको इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एशोसिएसनका अध्यक्ष समित गर्गले विश्वका विभिन्न देशमा भारतबाट वार्षिक सयौं विवाह समारोह आयोजना हुने गरेको बताए । भारतीयका लागि नेपाल विवाहको उपयुक्त गन्तव्य हुन सक्ने भएकाले नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गरिएको र यसबाट थप उत्साह बढेको उनको भनाइ छ ।