विराटनगर। कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारको शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिवार पत्रकार सम्मेलन गरेर कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ पठाउने निर्णय भएको बताए ।
यसैगरी भूकम्प प्रभावित बासिन्दाका लागि एक ट्रक कम्मल, त्रिपाल लगायत राहत सामग्री कर्णाली प्रदेशमा पठाइएको मुख्यमन्त्री कार्कीले बताए । शुक्रवार मध्यरातमा कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।