ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्युचुअल फण्डहरूले आरक्षित धितोपत्र ६ महीना विक्री गर्न नपाउने 

२०८० कात्तिक, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानीकोषका लागि छुट्याइएको आरक्षित धितोपत्र कारोबारमा नयाँ व्यवस्था गरेको छ । बोर्डले कात्तिक २१ गतेदेखि नै लागू हुने गरी सामूहिक लगानीकोषहरूले प्राप्त गरेको ५ प्रतिशत आरक्षित शेयर ६ महीनासम्म विक्री गर्न नपाउने व्यवस्था गरेको हो ।

सामूहिक लगानीकोष नियमावली, २०६७ को व्यवस्थाबमोजिम सामूहिक लगानीकोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महीना पूरा नभएसम्म विक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था बोर्डले गरेको हो । तर, यसरी खरीद गरेको धितोपत्र बाँडफाँट भएको मितिले ६ महिनाभित्रै योजनाको निर्धारित अवधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा भने यो व्यवस्था बाधक नपर्ने बोर्डको भनाइ छ ।

पछिल्लो समय धितोपत्र दोस्रो बजारमा आईपीओको पहिलो कारोबार दिनमा नै विक्री चाप बढेपछि बोर्डले विशेष निगरानी बढाएको बोर्डका अध्यक्ष रमेश कुमार हमालले जानकारी दिएका छन् । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित सामूहिक लगानीकोषहरूको समेत धितोपत्र बजार विकासका लागि महत्त्वपूर्ण योगदान हुने अवस्थामा विक्री चाप बढ्नुमा उनीहरूकै बढी भूमिका देखिन आएकाले यो व्यवस्था लागू गरिएको अध्यक्ष हमालले जानकारी दिएका छन् ।

संस्थागत लगानीकर्ताको रूपमा रहेका सामूहिक लगानीकोषहरूबाट दीर्घकालीन लगानीको अपेक्षा आम लगानीकर्ताहरूको रहेको र लगानीकर्ताको मागबमोजिम नै बोर्डले सामूहिक लगानीकोषको आरक्षित धितोपत्रमा लकइनको व्यवस्था गरिएको अध्यक्ष हमालको भनाइ छ । यो व्यवस्था लागू भएसँगै धितोपत्र बजारमा पछिल्लो समय आईपीओको मूल्यमा परेको नकारात्मक प्रभावलाई कम गर्न मद्दत पुग्ने अध्यक्ष हमालको विश्वास छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)