नेपालको अर्थतन्त्रमा साना उद्योगको योगदान ६ प्रतिशतमा झरेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘साना उद्योग प्रतिष्ठान सर्वेक्षण २०६६’ को प्रतिवेदनले यो देखाएको हो । विभागले आइतवार एक कार्यक्रम आयोजना गरी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको हो । तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने गरेको यस्तो सर्वेक्षण यसअघि २०५७ मा भएको थियो । उक्त सर्वेक्षणले साना उद्योगको योगदान कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत रहेको देखाएको थियो । ‘सेवाक्षेत्रको तुलनामा उद्योग क्षेत्रको वृद्धि कम भएकाले योगदान कम देखिएको हो,’ तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मल्लले भने । सर्वेक्षणमा एकदेखि १० जनासम्म भई आम्दानीमूलक क्रियाकलाप गर्ने उद्योगलाई समेटिएको विभागले जानकारी दिएको छ । संख्यामा आधारित रहेर सर्वे गरिएकाले औद्योगिक व्यवसाय ऐनको परिभाषामा मझौला वा ठूलामा पर्ने केही उद्योगसमेत यस सर्वेक्षणमा परेका छन् ।
वर्ष ६, अंक ९०, सोमवार, ५ पुस, २०६७