काठमाडौं । घरमा पाहुना आउँदा होस् वा साथीभाइ भेट्दा चियाको चुस्की लिँदै कुराकानी शुरू गर्ने चलन धेरैको छ । चियाले हाम्रा सम्बन्धहरूमा मिठास थपेजस्तै चिनीले पनि चियामा मिठास थपेको हुन्छ । तर, त्यही मिठास थप्ने गुलियो चिनी किन्न उपभोक्ताले झेल्नुपरेको सास्ती निकै तीतो छ । यहाँसम्म कि दुई किलो चिनी किन्न १२० रुपैयाँ गाडीभाडामा खर्च भएको र घण्टौं लाम बस्नु परेको उपभोक्ताको गुनासो छ ।
अहिले बजारमा चिनी सजिलै पाइँदैन । पाइहाले पनि कि त घण्टौं लाइन बस्नुपर्छ कि निकै बढी मूल्य तिर्नुपर्छ । साल्ट ट्रेडिङ कर्पोरेशनले प्रतिव्यक्ति दुई किलोका दरले चिनी बेच्ने गरेको छ । कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनमा चिनी किन्न आउनेको लाममा मंगलवार जोरपाटीका श्यामसुन्दर पोखरेल भेटिए ।
‘जोरपाटीदेखि यहाँसम्म आउजाउ गर्न मेरो १२० रुपैयाँ बसभाडा खर्च हुन्छ । खाजा खर्चसमेत जोड्ने हो भने २ सय रुपैयाँभन्दा बढी पुग्छ,’ उनले आर्थिक अभियानसँग भने, ‘९७ रुपैयाँ किलो पर्ने चिनी किन्न यति सास्ती छ । घरनजिकका पसलमा हप्ता दिनदेखि चिनी नपाउँदा यहाँ आउनु परेको हो ।’
दुई किलो चिनी किन्न २ घण्टा लाइनमा बस्नु परेको अर्का उपभोक्ता अजय महर्जनले सुनाए । ‘अहिलेलाई दुई किलो चिनी पाइयो । यति भए १ महीना जतिलाई ढुक्कै हुन्छ । आफू चिया नखाई पनि नहुने, विनाचिनीको पनि खान नसक्ने परेँ,’ उनले भने ।
बजारमा चिनीको हाहाकार हुँदा टाढाटाढाका उपभोक्ता पनि साल्ट ट्रेडिङमै आएर घण्टौं लाइन बस्न बाध्य छन् । उपभोक्तालाई सजिलो होस् भनेर सरकारी पहलमा साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिन थालेको छ । तर, उपभोक्ताको दु:ख उस्तै छ ।
यसअघि सरकारले उद्योगीमार्फत साल्ट ट्रेडिङलाई ३ हजार टन चिनी दिने निर्णय गरेको थियो । यसमध्ये साल्ट ट्रेडिङले अहिलेसम्म करीब १० टन मात्रै पाएको छ । त्यही चिनीबाट खुद्रा व्यापारीलाई दिन थालिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए । ‘हामीले ३ हजार टन चिनी एकैपटकमा पाएको भए व्यापारीलाई दिन पनि सहज हुने थियो,’ उनले भने, ‘हामीलाई नै चिनी थोरैथोरै परिमाणमा उपलब्ध भइरहेकाले व्यपारीलाई पर्याप्त उपलब्ध गराउन समस्या छ । तर, उपभोक्तालाई सहज बनाउने प्रयास भने भइरहेको छ ।’
व्यापारीले भने बजारमा चिनीको कृत्रिम अभाव देखाई महँगो मूल्यमा विक्री गरिरहेका छन् । अहिले अधिकांश पसलमा चिनी पाइँदैन । पाइहाले पनि १५० रुपैयाँसम्म पर्ने गरेको छ । कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न वाणिज्य विभागले पनि राम्रै कसरत गरिरहेको छ । सरकारले पनि चिनीको उपलब्धतालाई सहज बनाउन भारतसँग गत साउनमै ५० हजार टन चिनी माग गरेको थियो । उक्त चिनी सरकारी निकायबीचको जीटूजी प्रक्रियामार्फत आयात गर्ने सरकारको योजना छ ।
भारतले कात्तिक १६ मा आपूर्ति मन्त्रालयलाई इमेल गर्दै २५ हजार टन चिनी दिने जानकारी गराएको मन्त्रालय स्रोतले बतायो । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भारतले दिने चिनी आयातका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०/१० हजार टनको जिम्मा दिने बताए । जति सक्दो चाँडो चिनी आयात गरी अभाव हटाउन प्रयास भइरहेको उनको भनाइ छ ।
अहिले चिनीको हाहाकार हुनुमा पहिलो गल्ती सरकारकै भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार बजारमा चिनीको अभाव र कलोबजारी हुनुमा सम्पूर्ण गल्ती अर्थ मन्त्रालयको हो ।
आपूर्ति मन्त्रालयले चिनी आयात गर्न गत साउनमै अनुमति माग्दै अर्थमा पत्र पठाए पनि अर्थले नियतवश बेलैमा अनुमति नदिएको उनको भनाइ छ । सरकारी निकायहरूबीच समन्वय हुन नसक्दा त्यसको प्रत्यक्ष मार उपभोक्तामा पर्ने गरेको उनले बताए । अर्थले भने बजारमा चिनीको सहज उपलब्धताका लागि कूटनीतिक पहल गरिरहेको बताएको छ ।