ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला उद्यमी सघाउन ५० करोडको कोष : एसएमइजमा ५ करोडसम्म लगानी

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। महिलाहरूले सञ्चालन गरेको उद्यमलाई सघाउने गरी ५० करोड रुपैयाँको कोष सञ्चालनमा आएको छ । वित्तीय सेवाको पहुँच पुर्‍याएर महिला उद्यमीको व्यवसायलाई माथि उकास्ने उद्देश्यले ग्लोबल इक्विटी फन्डले उक्त रकमको कोष औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । ग्लोबल इक्विटी फन्डले यूएसएडको ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा यो कोष शुरू गरेको हो । 

काठमाडौंमा मंगलवार कार्यक्रम आयोजना र तीनओटा कम्पनीसँग आशयपत्रमा हस्ताक्षर गरेर फन्डले कार्यक्रम शुरू भएको जानकारी दिएको छ । यो महिला उद्यमी केन्द्रित पहिलो कोष भएको फन्डको दाबी छ । 

फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाले यो कोषबाट महिला उद्यमीलाई न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म सहयोग गरिने बताए । व्यवसायको आवश्यकता, मागअनुसार उद्यममा लगानी गरिने उनको भनाइ छ । ‘मंगलवार नै तीनओटा कम्पनीसँग आशयपत्रमा हस्ताक्षर भएको छ,’ उनले भने, ‘महिला उद्यमीका कम्पनीहरू हेर्न थालिसकेका छौं । पहिलो चरणमा १० देखि १५ ओटा लघु, साना, मझौला उद्यमहरू (एमएसएमइज)मा लगानी गर्नेछौं ।’ फन्डले कोषबाट रकम लगानी गर्न पाँचओटा मापदण्ड तोकेको छ । त्यसमध्ये उद्यमशीलतामा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको, नेतृत्वदायी भूमिकामा ३० प्रतिशत महिला वा बोर्डमा ३० प्रतिशत, रोजगारीको मापदण्डभित्र भने ३० देखि ५० प्रतिशत सहभागी हुनुपर्ने थ्रेसहोल्ड फन्डले राखेको छ । यस्तै उपभोगको मापदण्डमा कुनै थ्रेसहोल्ड नराखे पनि ५औं मापदण्डमा महिला उद्यममा उनीहरूको लगानी ३० प्रतिशत हुनुपर्ने फन्डले उल्लेख गरेको छ । 

यी मापदण्ड पूरा गरेका कम्पनीलाई कोषबाट लगानी गरिने फन्डले जानकारी दिएको छ । यो कार्यक्रमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० हजारले रोजगारी पाउने फन्डको अपेक्षा रहेको उल्लेख गरिएको छ । कार्यक्रममा अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जेसन मिक्सले महिला उद्यमशीलतामा उनीहरूले सामना गरिरहेको वित्तीय पहुँचको प्रणालीगत समस्या समाधानमा सघाउ पुग्ने बताए । 

उनका अनुसार यो फन्ड परिचालनले नेपालमा उद्यमशीलता तथा आर्थिक वृद्धिलाई बढावा दिनेछ । उनले महिला उद्यमीहरूले व्यवसाय शुरू गर्न र सञ्चालनमा पनि धेरै समस्या सामना गर्नुपरेको पनि उल्लेख गरे । फन्डले पूँजीमा महिला उद्यमीको पहुँच बढाउने, उनीहरूको क्षमता निर्माण गर्ने र घरेलु तथा विश्व बजारसँगको सम्बन्धलाई बढावा दिने पनि उल्लेख गरिएको छ ।

नेपाल प्राइभेट इक्विटी एशोसिएशनका अध्यक्ष सिद्धान्तराज पाण्डेले दुई संस्थाबीचको सहकार्य सराहनीय भएको बताए । महिला उद्यमीले नेतृत्व गरेको उद्यमलाई यस्ता फन्डले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनले यस्तो पहलले महिलाको व्यवसायलाई विविधीकरण गर्न, सेवाको उपलब्धतामा सुधार र बजार बनाउन पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)