ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल, 'राहत माग्दामाग्दा हैरान'

२०८० कात्तिक, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जाजरकोट । गत शुक्रवार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी निस्कने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आइरहेकी छन् । 

उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुला सडकभन्दा माथि त्रासले जान नसकेका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको  रमिताले बताइन् । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरूप आएको त्रिपाल, अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनीबाहेक अन्यले नपाउने भनेपछि आफूहरू हैरानीमा परेको उनको भनाइ छ । खुला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत माग्दामाग्दा हैरान छन् । 

अर्का स्थानीय गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुनः एक थान त्रिपाल पाएको उनले सुनाए ।

थाप्लेका झलक मल्लले त्रिपाल नपाउने थाहा पाएपछि मारमा परेको सुनाए । ‘शुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन,’ उनले दुखेसो पोखे । घर पूर्णरूपमा भत्किएर समस्यामा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ ।

भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए । 

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)