काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ को प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ मा १४ निर्जीवन बीमा र २ लघु निर्जीवन बीमाकम्पनीहरूले १० अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । आव २०७९/८० को सोही अवधिको तुलनामा चालु आवमा बीमा शुल्क ३ दशमलव ५७ प्रतिशतले घटेको हो । आर्थिक मन्दीको असर बीमा व्यवसायमा पर्दै आएको यस क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् ।
आव २०७९/८० को पहिलो त्रैमासमा बीमा कम्पनीहरूले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
बीमा शुल्क सर्वाधिक संकलन गर्ने कम्पनीको सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ र तेस्रोमा शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सञ्चालनमा रहेका दुईओटा लघु निर्जीवन बीमा कम्पनीहरूले भने आव २०८०/८१ को प्रथम त्रैमासमा ९१ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३० लाख ४६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६१ लाख ४४ हजार बीमा शुल्क संकलन गरेको छ ।
कुन महीनामा कति बीमा शुल्क संकलन ?