ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला उद्यमीलाई वित्तीय पहुँच आवश्यक

२०८० कात्तिक, २३  
सम्पादकीय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

ग्लोबल इक्विटी फन्डले यूएसएडको ट्रेड एन्ड कम्पिटिटिभनेसको प्राविधिक सहयोगमा महिलाहरूले सञ्चालन गरेको उद्यमलाई सघाउने गरी ५० करोड रुपैयँाको कोष सञ्चालनमा ल्याएको छ । वित्तीय सेवाको पहुँच पुर्‍याएर महिला उद्यमीको व्यवसायलाई माथि उकास्ने उद्देश्यले ग्लोबल इक्विटी फन्डले औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । महिलाहरूले वित्तीय पहुँच पाउन समस्या भइरहेको सन्दर्भमा यस्तो फन्ड सञ्चालनमा आउनु सकारात्मक छ । 

कोषले महिला उद्यमीलाई न्यूनतम ५० लाख रुपैयँादेखि अधिकतम ५ करोड रुपैयँासम्म सहयोग गर्ने बताइएको छ । व्यवसायको आवश्यकता र मागअनुसार उद्यममा लगानी गर्ने कोषको भनाइ छ । खासगरी लघु, साना तथा मझौला उद्योगमा लगानी गर्ने कोषले बताएको छ । यस्तो उद्योगमा ५१ प्रतिशत महिलाको स्वामित्व रहेको, नेतृत्वदायी भूमिकामा वा बोर्डमा ३० प्रतिशत महिला हुनुपर्ने, ३० देखि ५० प्रतिशत महिला रोजगारी हुनुपर्नेलगायत मापदण्ड तय गरिएको छ । नेपालमा महिलाहरूले लघु, साना तथा मझौला उद्योगहरू सञ्चालन बढी गरेको पाइन्छ । यस्तोमा उनीहरूको वित्तीय समस्यामा सहयोग पुग्नु भनेको महिला उद्यमशीलताका लागि निकै सहयोग हो । 

महिला उद्यमशीलतालाई सघाउन सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगतमा महिला उद्यम विकास कोष सञ्चालन गरिएको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त सहुलियत कर्जाअन्तर्गत महिला उद्यमशीलताका लागि बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । महिलाहरूलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने नीति लिइएको छ । तर, धितो राख्ने सम्पत्ति नहुँदा तथा कर्जाका लागि आवश्यक प्रक्रिया पुर्‍याउन नसक्दा महिला उद्यमीहरूले सहजै कर्जा पाउन सकेका छैनन् । नेपालमा महिलाहरूले आफ्नो शीप र स्थानीय स्रोत प्रयोग गरेर लघु उद्यमहरू गरिरहेको पाइन्छ । तर, यस्ता उद्यमलाई विस्तार गर्न बजारीकरणको समस्या एकातिर छ भने अर्कातिर उनीहरूले लगानी बढाउन स्रोत पाइरहेका छैनन् । साथै प्रविधिको पहुँच नहुँदा वा उद्योगको प्रस्ताव तयार पार्न नजान्दा पनि सरकारले दिएको सहुलियत उपयोग गर्न सकेका छैनन् । त्यसैले महिला उद्यमशीलता बढाउने हो भने उनीहरूलाई वित्तीय पहुँच सहज रूपमा पुर्‍याइनुपर्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजारभन्दा बढी महिला उद्यमीमा ५८ अर्बभन्दा बढी कर्जा प्रवाह भएको छ । यो संख्या ठूलो भए पनि लेखपढ कमजोर भएका, औद्योगिक प्रक्रिया नजानेका महिलाहरूले कर्जा लिएको पाइँदैन । उनीहरूलाई कर्जा प्रवाह गर्न विशेष नीति लिनु आवश्यक देखिन्छ । यसका लागि कोषले थप काम गर्नुपर्ने देखिन्छ । 

मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ । 

खासगरी उत्पादन, गुणस्तर, बजार, आपूर्ति, कम्पनीको हिसाबकिताब आदि पक्षबारे जानकारी नभएका महिलाहरूले पनि परम्परागत शीप र स्थानीय स्रोतको प्रयोग गरी थोरै पूँजीमा उद्यम गरिरहेका छन् । त्यसको विस्तार गर्न उनीहरूसँग पूँजीको अभाव छ । यस्ता उद्यमीहरूले बैंकले दिएको कर्जाबारे जानकार नभएको, जानकारी भएर पनि झन्झटपूर्ण प्रक्रियाका कारण कर्जा विमुख भएको अवस्था छ । यो कोषले यस्ता महिलालाई सहयोग गर्नुपर्छ । पूँजीको सहयोगमात्र पर्याप्त नहुने हुँदा उद्यमशीलतासँग सम्बद्ध अन्य विषयबारे पनि उनीहरूलाई तालीम र ज्ञान दिनु आवश्यक देखिन्छ ।

मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन लघु, साना तथा मझौला उद्योगहरूको भूमिका निकै बढी हुन्छ । यसले दिने रोजगारी पनि ठूलै हुन्छ । स्थानीय स्रोतको प्रयोग हुने भएकाले स्थानीय अर्थतन्त्रमा पनि टेवा दिन्छ । त्यसैले यस्तो कोषले पूँजीका अतिरिक्त आवश्यक अन्य सहयोगसमेत दिए महिला उद्यमशीलता विस्तारमा सहयोग पुग्ने देखिन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)