ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल संवत्, ऋणमुक्ति र ऋणको स्थिति

२०८० कात्तिक, २३  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar राजाराम श्रेष्ठ

नेपाली इतिहासमा शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत् गरी चारओटा संवत् प्रचलनमा आएको इतिहास छ । सुमतितन्त्र नामक ज्योतिष ग्रन्थमा नेपालमा प्रचलित संवत्हरूको संक्षिप्त वर्णन गरिएको छ । नवौं शताब्दीतिर उत्तर भारतबाट व्यापार व्यवसायको खोजीमा नेपाल उपत्यकामा प्रवेश गरेका वैश ठकुरीहरू सैनिक सेवामा प्रवेश गरी क्षत्री बनेका र यिनै ठकुरी वंशका राजा मानदेव चतुर्थका छोरा राघवदेवले विसं ९३६ कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत् चलाएको कुरा पढ्न पाइन्छ । राजा श्रीराघवदेवले पशुपतिनाथलाई लक्षित गरी यो संवत् चलाएको गोपाल राजवंशावलीमा संक्षिप्त उल्लेख गरिएको छ । लिच्छविकालमा अंशुवर्माको समयदेखि पशुपति अंकित मुद्रा प्रचलनमा ल्याइएकोबाट पनि पशुपतिनाथको सम्मानमा यो संवत् चलाइएको अनुमान लगाउन सकिन्छ । चन्द्रमासको आधारमा शुरू हुने नेपाल संवत्मा तिथि टुटफुट हुने कारणले चन्द्र शमशेरले विसं १९६० तिर आएर जागीरदारलाई तलब दिन अप्ठ्यारो परेकाले यसलाई हटाई विक्रम संवत्लाई मान्यता दिए । 

भाषा वंशावलीमा नेपाल संवत्को प्रारम्भका बारेमा चर्चा गरिएको छ । राघवदेवको पालामा भक्तपुर ग्राममा एक समुद्रशास्त्र जान्ने व्यक्तिले सुवर्ण आकर्षणको योग, बार, साइतमा गोप्य रूपमा विष्णुमती र भद्रमतीको संगम लखुतीर्थमा गर्ई बालुवा बोकी ल्याउन भरियाहरूलाई पठाएको र भरियाहरूले अह्राए बमोजिम बालुवा बोकी ल्याउँदा कान्तिपुरवासी साख्वा नाम गरेका शुद्र जातले भरियाहरूलाई घरमा लगी सम्मान गरी खुवाई मलाई पनि बालुवा चाहिएकाले यो बालुवा मेरो घरमा खन्याई विष्णुमती गई बालुवा लैजाऊ भनी ज्यालासमेत दिई पठाएको थियो । भरियाहरूले बालुवा साख्वाको घरमा खन्याई फेरि विष्णुमती गई बालुवा बोकी भक्तपुरग्राम लगे । साख्वाको घरको सबै बालुवा चौथो दिनमा सबै सुवर्ण अर्थात् सुन भयो । साख्वाले यो धन त्यसै राख्नुभन्दा धर्मकीर्तिमा लगाउनु उपयुक्त सम्झी सबै सुवर्ण खर्च गरी नेपालका प्रजाहरूका ऋण सबै तिरी नेपाल संवत् नाम गरी संवत् फिरायो । साख्वा बुद्धिमान हुनाले नेपालमा ठूलो प्रख्यात पाए र पशुपतिनाथका दक्षिण दरबाजासामु आफ्नो शिलामूर्ति बनाई स्थापना गरी उद्धार भइगए । (भाषा वंशावली, भाग २, २०२३, पृष्ठ २४, २५) 

वंशावलीमा वर्णित साख्वा भन्ने व्यक्ति नै शंखधर भएको इतिहासकारहरूको भनाइ छ । प्राडा पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार दुवै हात छातीसम्म पुर्‍याई शंख समातेको, कानमा कुण्डल, कपाल जुरो बनाएको, पेट अलि ठूलो देखिएको व्यक्ति साख्वालाई व्यापारीका रूपमा चित्रण गरिएको छ । (ख्वप: पौ, २०७९ पौष १५, पृष्ठ ८–१७) यिनै व्यापारीले लखुतीर्थबाट शुभ साइतमा झिकेको बालुवा सुन भएको र त्यही सुन बेचेर सम्पूर्ण नेपाली प्रजाको ऋण तिरिदिएको देखिन्छ । यही खुशीयालीमा नेपाल संवत् चलाएको भन्ने मान्यता अहिलेसम्म पनि रहिआएको छ । वंशावलीकारले लेखेको यस भनाइमा साख्वा भन्ने व्यक्ति बडो बुद्धिमान् रहेको पुष्टि हुन आउँछ । ऋणमुक्तिको उनको यस कार्यलाई समाजसेवाको उदाहरणीय कार्यको रूपमा लिन सकिन्छ । त्यसैले आजको दिनसम्म पनि सम्पूर्ण नेपालीले उनलाई सम्झिरहेका छन् । त्यसैले शंखधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता दिइएको छ । 

सम्भवत: नेपाल संवत् प्रचलनमा आउँदाको अघिल्ला दिनहरूमा प्रजाले साहूबाट ऋण लिने र तिर्न नसक्दा दासदासी बनाउने प्रथा प्रचलनमा रहेकाले साहूको ऋणबाट प्रजाको मुक्तिका लागि साख्वाले सुन खर्च गरेर ऋण तिरिदिएको हुन सक्छ । दासत्वको जीवन बिताइरहेका प्रजाको कति ऋण कसलाई तिरिदिए ? त्यतिबेला सम्पूर्ण नेपाली प्रजालाई ऋण दिन सक्ने सामन्ती व्यक्ति को थिए ? यस्ता प्रश्नका विषयमा वंशावलीहरूमा पनि केही उल्लेख नगरिएकाले खोज, अनुसन्धान हुनु जरुरी छ ।

ऋण लिने, दिने परम्परा विगतमा पनि थियो र आज पनि चलेकै छ । जनताले आफ्नो घरव्यवहार चलाउन साहूसँग ऋण लिने गरेका छन् । सहकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था ऋण दिने कार्यमा अगाडि देखिन थालेका छन् । व्यक्ति विशेष पनि ब्याज खाने लालसामा ऋण दिने साहूकारका रूपमा देखिएका छन् । व्यापारी, व्यवसायी, उद्योगपतिहरूले आफ्नो उद्योग, व्यवसाय चलाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेका छन् । ऋणमा निश्चित प्रतिशत ब्याजसमेत तिर्नुपर्ने कानूनी मान्यता छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गरिएको घरपरिवार सर्वेक्षणअनुसार नेपालका कुल २५ प्रतिशत जनता ऋणमा परेको देखिएको छ । देश भरका कुल ६६ लाख ६० हजार ८ सय ४९ परिवारमध्ये २५ दशमलव ५९ प्रतिशत सहकारी संस्था वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको तथ्यांक रहेको छ । प्रदेशअनुसार हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २९ दशमलव ९६ प्रतिशत रहेको देखिएको छ । संघसंस्था, व्यक्ति विशेष सबैलाई ऋण उठाउनुपर्ने बाध्यता रहेको छ । 

अहिले यो देश नै ऋणमा रहेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । अहिले यो ऋण २१ खर्बभन्दा माथि पुगिसकेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ लाई आधार मान्दा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्र्दा प्रतिव्यक्ति ऋण ७४ हजार ५ सय १६ रुपैयाँ पर्न जान्छ । विगतमा साख्वाले झैं देश र जनताको टाउकोमा परेको ऋण तिरी दिने व्यापारी, व्यवसायी वा कोही समाजसेवी अहिले आउनेवाला छैनन् । भाषा वंशावलीअनुसार शंखधर साख्वा भन्ने व्यक्तिले नेपाल संवत्लाई जोडतोडका साथ अगाडि बढाएको देखिन्छ । यस संवत्लाई अगाडि बढाउनमा उनको देन अतुलनीय रहेको मान्न सकिन्छ । देशको सामाजिक तथा आर्थिक परिवर्तनसँग जोडिएको यस संवत्लाई सबै नेपालीले आत्मसात् गर्दै आएका छन् । देशको नाममा प्रचलनमा ल्याइएको नेपाल संवत् सबै नेपालीको मौलिक संवत् हो । यसलाई नेपाल सरकारद्वारा राष्ट्रिय संवत्का रूपमा मान्यता प्राप्त छ । यस संवत्को प्रचलनले ऋण तिर्नुपर्छ भन्ने कुरा पनि सिकाएको छ ।

लेखक अधिवक्ता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)