ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपीडितका लागि चीनले पठायो राहत सामग्री 

२०८० कात्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। गत शुक्रवार जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट प्रभावितका लागि चीन सरकारले पूर्वघोषित राहत सामग्री पठाएको छ । भूकम्प गएको भोलिपल्ट चिनियाँ राष्ट्रपति सी चीनफिङले भूकम्पपछिको उद्धार, राहत तथा पुन:स्थापनामा चीनले सघाउने बताएका थिए । सोहीअनुसार चीनले बुधवार दुई विमानमार्फत राहत सामग्री नेपाल पठाएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुधवार आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । चीनले भूकम्पपीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको चङ्तु विमानस्थलबाट चिनियाँ सेनाको विमानमार्फत पोखरा विमानस्थलमा ल्याइएको थियो ।

सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई संकट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताए । नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उनले बताए ।

‘नेपालको आर्थिक विकाससँगै संकटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ । चीन सरकारले हामीलाई संकटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘विसं २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ ।’ 

नेपालका लागि चिनियाँ राजदूत छनले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको भन्दै संकटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताए । ‘दु:खको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,’ उनले भने ।

चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउन थालेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पपीडितका लागि सहयोग जुटाएको छ । मन्त्रालयले बुधवार प्रधानमन्त्री राहत कोषमा रू. चार करोड १३ लाख ९८ हजार ९८८ जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको मन्त्रालयले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)