ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिचौलियामुक्त हुँदै वीरगञ्ज यातायात व्यवस्था कार्यालय 

२०८० कात्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । सवारी वा लाइसेन्ससम्बन्धी काम लिएर यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पुग्नेहरू प्राय: बिचौलियाको चक्करमा पर्ने गरेका छन् । 

कार्यालयको गेटअगाडि पुगेका जो कोहीलाई यस्ता बिचौलियाले काम सहज गरिदिने भन्दै अतिरिक्त रकम लिन्छन् । कतिपयले त नक्कली कागजात बनाएर ठगी गरेका घटना पनि बाहिर आएका छन् । 

अब यातायात व्यवस्था कार्यालयलाई बिचौलियामुक्त बनाइने भएको छ । उक्त कार्यालयमा मंगलवारदेखि विद्युतीय सवारी दर्ता प्रणाली (ईभीआरएस) लागू भएको कार्यालय प्रमुख कमल गौतमले जानकारी दिए । 

कार्यालयबाट दिइने सेवा प्रवाहलाई अनलाइनमा आधारित बनाएर सेवाग्राहीमैत्री बनाउन यो प्रणाली लागू गरिएको गौतमले बताए । ‘अहिले सवारीतर्फ यो प्रणाली कार्यान्वयनमा ल्याएका छौं । 

सवारीको तथ्यांक अद्यावधिक गर्दै यसलाई क्रमश: व्यवस्थित गर्ने योजना छ,’ गौतमले आर्थिक अभियानसित भने, ‘सवारी साधनसम्बन्धी सबै प्रक्रिया, सवारीचालक अनुमतिपत्र र कर दाखिलालगायत काम अनलाइनबाटै हुने गरी प्रणाली तयार गरिएको छ ।’ 

मधेश प्रदेशका बर्दिबास, राजविराज र लहानमा यसअघि नै यो प्रणाली कार्यान्वयनमा आइसकेको छ । अनलाइनबाटै सम्पूर्ण सेवा दिएर सेवाग्राहीलाई कार्यालयमा धाउनै नपर्ने गरी यो प्रणालीले काम गर्ने बताइएको छ । 

कार्यालयमा मंगलवारदेखि विद्युतीय सवारी दर्ता प्रणाली (ईभीआरएस) लागू भएको छ ।

सेवाबारे कार्यालयले जारी गरेको सूचनामा यो प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आएपछि बिचौलियाको बिगबिगी अन्त्य हुने उल्लेख छ । त्यसपछि कुनै पनि कामका लागि बिचौलियाको सहयोग लिनुपर्ने अवस्थाको अन्त्य हुनेछ । 

सवारीसम्बन्धी विवरण क्यूआर कोडमा अद्यावधिक गरिने र त्यसका आधारमा अनलाइनबाटै सेवा दिन सकिने बताइएको छ । सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष सम्पर्क नभएपछि सेवा प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी हुने विश्वास प्रमुख गौतमको छ । फाइल खोज्न, व्यवस्थापनलगायतमा कम जनशक्ति भए पनि पुग्ने सूचनामा उल्लेख छ । कागजी प्रक्रिया अन्त्य भएपछि सेवा प्रवाहको खर्च घट्ने अपेक्षा गरिएको छ । 

सवारीचालक अनुमतिपत्रका लागि विद्युतीय सवारीचालक अनुमतिपत्र दर्ता प्रणाली (ईडीएलआरएस) पूर्ण रूपमा कार्यान्वयनमा आएपछि राजस्व दाखिला, मेडिकल रिपोर्ट, ट्राफिकको सिफारिश, अनुमतिपत्र नवीकरणलगायत सेवा अनलाइनबाटै लिन सक्ने यातायातले बताएको छ । 

यो प्रणाली कार्यान्वयन भएसँगै सेवाग्राहीहरू सवारीचालक अनुमतिपत्रको लिखित/प्रयोगात्मक परीक्षा र बायोमेट्रिकका लागि मात्रै कार्यालयमा आए पुग्ने गौतमले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)