काठमाडौं। एशियन बैंकर्स एशोसिएशनका अध्यक्ष युजेन असेभेडोले नेपाली बैंकहरूले पहल गरेको खण्डमा विदेशी बैंकबाट लगानी भित्त्याउन सक्ने सम्भावना रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा शुरू भएको ‘एशियन बैंकिङ सम्मेलन २०२३’ का अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले जापानका बैंकहरूले फिलिपिन्स, भियतनामलगायत देशमा लगानी गरेको उदाहरण दिँदै त्यो अवसर नेपालले पनि उपयोग गर्न सक्ने उल्लेख गरे ।
अध्यक्ष असेभेडोले नेपालको बैंकिङ क्षेत्रको खराब कर्जा अन्य एशियाली देशको तुलनामा निकै कम रहेको र यसबाट डराउनुपर्ने अवस्था नरहेको बताए । अहिले विश्वव्यापी रूपमा अर्थतन्त्रको अवस्था बिग्रिँदा व्यवसायीको ऋण तिर्ने क्षमता कमजोर भएको र यो अवस्थामा बैंकहरूले खराब ऋणीको रूपमा व्यवहार गर्न नहुने उनले स्पष्ट पारे ।
यो समयमा कर्जा पुन: संरचना तथा पुनर्तालिकीकरणमार्फत ऋणीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । कोभिड–१९ को महामारी र रूस–युक्रेन तनावले मूल्यवृद्धि, आपूर्ति शृंखलामा अवरोधका कारण विश्वव्यापी रूपमै क्रयशक्ति घटेको र यसले मागमा पनि कमी आएकाले मानिसहरू प्रभावित भएको उनको दाबी छ । उनले नेपाली बैंकहरू व्यवस्थित रहेको भन्दै प्रशंसासमेत गरे ।
उक्त सम्मेलन उद्घाटन सत्रमा अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरले नेपालको जलविद्युत्, कृषि, यातायातलगायत क्षेत्रमा लगानी गर्न एशियाली देशका बैंकहरूलाई आह्वान गरे । उनीहरूले विदेशी लगानीलाई सहज बनाउने नेपालको नीति रहेको भन्दै सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानी सहज बनाउन सरकारले कानूनी तथा अन्य संरचना बनाएको बताए । ऊर्जा र कृषिक्षेत्रमा सम्भावना उच्च रहेको भन्दै यसमा लगानी गर्न उनले आग्रह गरे । ‘अन्तरराष्ट्रिय लगानीलाई सहज बनाउन नेपाल सरकार तयार छ,’ अर्थमन्त्री महतले भने, ‘त्यसैले नेपालमा सम्भावना भएका ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु ।’
छिमेकी भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिँदै अर्थमन्त्री महतले अगाडि थपे, ‘त्यसैले जलविद्युत्मा ढुक्कसँग लगानी गर्नुस् । सहजीकरणका लागि सरकार प्रतिबद्ध छ ।’
सरकारले नीतिगत व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने आश्वासन दिएका महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको पनि बताए । उनले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको पनि जानकारी गराए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालमा हाइड्रो, कृषि, यातायातजस्ता क्षेत्रमा सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरे ।
‘सरकारले पनि लगानीमैत्री वातावरण बनाइरहेको छ, कृषि, ऊर्जा, यातायातको क्षेत्रमा लगानीको सम्भावना छ,’ उनले भने, ‘त्यसैले आउनुस्, यहाँ लगानी गर्नुस् । यसबाट तपाईंहरूले पनि राम्रै प्रतिफल पाउनु हुनेछ ।’
गभर्नर अधिकारीले विभिन्न चुनौतीबीच अर्थतन्त्र सामान्य अवस्थामा रहेको र यसलाई थप गतिशील बनाउन जरुरी रहेको पनि बताए । एशियाली देशका बैंकहरूको संस्था एशियन बैंकर्स एशोसिएशन र नेपाल बैंकर्स एशोसिएशनले संयुक्त रूपमा आयोजना गरेको सम्मेलन शुक्रवारसम्म चल्नेछ । सम्मेलनमा नेपालबाहेक १८ देशका ६३ बैंकर सहभागी छन् । सम्मेलनमा एशियाली देशका बैंकहरूको साझा मुद्दाबारे छलफल हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्न सम्मेलन महत्त्वपूर्ण अवसर बन्ने बताए । सम्मेलनले नेपाली बैंकिङ क्षेत्रलाई चुनौतीपूर्ण परिस्थितिबाट उठेर आगामी दिनमा प्रभावकारी भूमिका खेल्न दीर्घकालीन रणनीति तय गर्न मद्दत पुग्ने विश्वास पनि केसीले व्यक्त गरे । नेपालमा सम्मेलन हुँदा नेपाली बैंकरहरू पनि अन्तरराष्ट्रियस्तरका छन् भन्ने सन्देश प्रवाह भएको र छिट्टै अन्तरराष्ट्रिय बजारमा जाने पनि उनले उद्घोष गरे ।