ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारलक्षित सामग्रीको व्यापार उच्च

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं। तिहार नजिकिएसँगै बजारमा तिहार लक्षित सामग्रीको व्यापार उच्च भएको छ । यतिबेला काठमाडौंको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोकलगायत स्थानमा तिहारको किनमेल गर्ने उपभोक्ताको बाक्लो भीड लाग्ने गरेको छ । सम्बद्ध व्यवसायीका अनुसार अहिले तिहार मनाउन आवश्यक पर्ने भाइ मसला, विद्युतीय झलर, मैनबत्ती, रङ, फूलमाला, ढाकाटोपीलगायतको कारोबार उच्च छ । 

तिहारमा प्रयोग हुने विद्युतीय झलरको कारोबार निकै बढेको व्यापारीहरूले बताए । त्रिपुरेश्वरस्थित एक इलेक्ट्रिकल पसलका सञ्चालक रवि तण्डुकारले तिहार नजिकिएसँगै विद्युतीय झलर किन्ने ग्राहकको संख्या बढेको बताए । 

‘सामान्य अवस्थामा यसको खासै कारोबार हुँदैन । तिहार शुरू भएसँगै झलर किन्न आउने ग्राहक दैनिक रूपमा बढिरहेका छन्,’ उनले भने, ‘अचेल दैनिक ५० हजार रुपैयाँसम्मको झलर विक्री भइरहेको छ । विशेष गरी तिहार र छठमा मान्छेले घरआँगन विभिन्न किसिमका रंगीचंगी बत्तीले रंगाउने चलन भएकाले यसको विक्री बढेको हो ।’ 

पहिलापहिला धेरैजसोले तिहारमा बत्ती बाल्न माटोको दियो प्रयोग गर्थे । पछिल्लो समय विद्युतीय झलरको प्रयोग गर्नेको संख्या बढेको छ ।

गतवर्षको तुलनामा यस वर्ष विद्युतीय झलरको आयात पनि बढेको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटाले जानकारी दिए । उनका अनुसार गतवर्ष तिहार र छठपर्वलाई लक्ष्य गरी ३६ करोड रुपैयाँ बराबरको विद्युतीय झलर आयात भएको थियो । 

यसवर्ष करीब ५० करोड रुपैयाँको आयात भएको छ । नेपालमा आयात हुने विद्युतीय झलरमध्ये ९५ प्रतिशत चीनबाट आयात हुन्छ । बाँकी ५ प्रतिशतमात्रै भारताट आयात हुने व्यवसायीले जानकारी दिए । 

अचेल भाइमसलाको कारोबार पनि ह्वात्तै बढेको छ । विशेष गरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि भाइमसलाका रूपमा काजु, किसमिस, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, ओखर, मिश्री, खुर्पानी, अलैंची, सुकमेल, मखना, सुपारीलगायत दिने गर्छन् । यसले गर्दा तिहार नजिकिँदा यी वस्तुको व्यापार बढेको खुद्रा व्यापारीले बताए ।

काठमाडौंको कालीमाटीमा किराना सामानको थोक पसल चलाइरहेका राममोहन वैश्यले तिहार नजिकिएसँगै भाइमसलाको माग बढेको बताए । ‘भाइमसलासँगै मैदा, खानेतेल, वनस्पति घिउ, सुजी, खानेसोडा जस्ता वस्तुको माग पनि बढेको छ,’ उनले भने, ‘यसले गर्दा अहिले सामान्य अवस्थाको तुलनामा व्यापार बढेको छ ।’

सामान्य अवस्थामा दिनमा ३५ देखि ४० हजार रुपैयाँसम्मको कारोबार हुने गरेकोमा अहिले ८० हजारदेखि लाखसम्म पुग्ने गरेको उनको भनाइ छ । मन्दीको कारण सामान्य अवस्थामा व्यापार खासै उत्साहजनक नभए पनि तिहार लागेकाले अहिले व्यापार राम्रो भइरहेको उनले सुनाए । 

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले यस वर्ष भाइमसलाको मूल्य गतवर्षको तुलनामा खासै परिवर्तन नभएको जानकारी दिए । उनका अनुसार काजुको मूल्य अहिले प्रतिकिलो १५ सयदेखि १८ सय रुपैयाँ छ । बदाम प्रतिकिलो १२ सयदेखि १४ सयमा पाइन्छ । पेस्ताको मूल्य प्रतिकिलो २२ सय र किसमिसको ५ सय रुपैयाँ छ । त्यसैगरी ल्वाङ प्रतिकिलो २ हजार र ओखर ४ सय ५० देखि ५ सय रुपैयाँ किलो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)