चितवन। चितवनका उद्योगी व्यवसायीले आर्थिक गतिविधि चलायमान बनाउन ठोरी नाका खोल्न माग गरेका छन् । ठोरी नाका सञ्चालन, देशमा देखिएको आर्थिक मन्दी र पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीको विषयमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।
उद्योग वाणिज्य संघ चितवनले आफ्नो कार्यालयमा चितवनका राजनीतिक दलका प्रमुखहरूलाई बोलाएर नाका सञ्चालनबारे ध्यानाकर्षण गर्दै समसामयिक विषयमा छलफल गरेको थियो । यो नाका सञ्चालनमा आए चितवनका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकलाई धेरै सहज हुने संघको विश्वास छ ।
कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, ठोरी नाका सञ्चालन, पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, यातायातका साधनको पहुँच तथा व्यवस्थापन र व्यावसायिक अवस्थाबारे सबै राजनीतिक दलको ध्यानाकर्षण गराए । छलफलमा जिल्लास्थित राजनीतिक दलका नेताले सबैको उद्देश्य चितवनको आर्थिक विकास भएकाले साझा धारणा बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा हाल निर्माणाधीन गोन्द्राङ–पुलचोक सडक छिटो सम्पन्न गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने, पूर्वी चितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुँदै बाइपास रोड परिक्रमा गराउने अवधारणा तय भएको छ । ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दलले मिलेर पहल गर्ने प्रतिबद्धता गरेका छन् ।