ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगरका दश स्थानमा  ट्राफिक लाइट राखिँदै

२०८० कात्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर। सवारी चाप बढेपछि पैदल यात्रुको सुविधाका लागि विराटनगर महानगरपालिकाले महानगरभित्रका दश स्थानमा ट्राफिक लाइट जडानको तयारी गरेको छ । सवारी चाप र मानिसको ओहोरदोहोर बढी हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट जडान गर्न लागिएको हो । यसका लागि महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा स्थान पहिचान गर्दै छ ।

बढी भीड हुने मुख्य बजार क्षेत्रका तीनपैनी, अस्पताल चोक, जलजला चोक, घोघापुल चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्ने प्रारम्भिक योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । यसैगरी कोशी लोकमार्ग अन्तर्गत विराटनगर खण्डमा पर्ने कञ्चनबारी, बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक र रोडशेष चोकमा पनि ट्राफिक लाइट राख्न जरुरी रहेकाले सडक विभागसँग प्रस्ताव गर्ने तयारी भइरहेको महानगरले बताएको छ ।

सवारी चाप र मानिसको ओहोरदोहोर बढी हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट जडान गर्न लागिएको हो । यसका लागि महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा स्थान पहिचान गर्दै छ ।

ट्राफिक लाइट जडानपछि ट्राफिक नियम पालना बढ्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्ति हट्ने न्यौपानेले बताए । विराटनगरका कुनै पनि चोकमा ट्राफिक लाइट नभएकाले नमूनाको रूपमा कार्यान्वयन गर्दै अगाडि बढ्ने तयारी भइरहेको उनले बताएका छन् ।

विराटनगर महानगरले एक वर्षअघि नै केही चोकमा ट्राफिक लाइट जडान गर्ने योजना अगाडि बढाएको थियो । यद्यपि ठेकेदार कम्पनीले विशेष कारणले काम गर्न नसक्दा ढिलाइ भएको मेयर नागेश कोइरालाले बताए । ४५ दिनभित्र पहिलो चरणमा जलजला चोकमा ट्राफिक लाइट जडान गरिसक्ने र क्रमश: अन्य चोकमा पनि यो व्यवस्था लागू गर्दै जाने जानकारी उनले दिए ।

कोशी लोकमार्ग खण्ड महानगर मातहतमा नरहेकाले सडक विभागसँग समन्वय गरेर मात्र निर्णय लिइने उनको भनाइ छ । महानगरले विभागसँग प्रस्ताव गरेको भए पनि कुनै जवाफ नआएकाले अहिले त्यहाँ लाइट जडान नहुने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)