ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पका कारण करीब १ करोड ९० लाखका पशुपन्छीको क्षति

२०८० कात्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
यही कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिका–३ मा भत्किएका घर । भूकम्पका कारण घरसँगै गोठ लगायतका संरचना पनि भत्किएका थिए । तस्वीर : रासस

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करीब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताए । उनका अनुसार उक्त क्षेत्रमा रु एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।

उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण शुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उनले जानकारी दिए ।  

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए । 

मन्त्रालयका पशुपन्छी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा. लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा. राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ ।

उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटेको थियो । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।  

पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको थियो । प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)