ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी

२०८० कात्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रूपमै बिजुली चोरी भइरहेको पाइएको छ ।

नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले गत आइतवारदेखि बुधवारसम्म नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैर कानुनी रूपमा बिजुली प्रयोग गरिरहेको फेला पारेको हो ।

प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एक सय ग्राहकको सिङ्गल तथा थ्रि फेज मिटरको छड्के जाँच गरेको थियो । त्यसमध्ये ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरिएको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताए । 

प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैर कानुनी क्रियाकलाप संगठित रूपमै भइरहेको पाइएको बताए । उनले गैरकानुनी रूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको बताए । उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ ।

कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्रि फेजका दुईवटा राइस मिल र एउटा सिंचाइको ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ । ती मिलहरूले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए । ब्रम्हबाबा जल उपभोक्ता समिति, धनकौलले ५० एमभीएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो । उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीवारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करीब ६२ करोड रुपैयाँ छ ।

असुलउपर गर्नुपर्ने विद्युत् महशुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महशुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकहरूको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ छ ।

कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महशुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकहरूको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ छ । लुम्बिनी प्रदेश डिभिजनल कार्यालय, नेपालगञ्ज मातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ । लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ ।

बागमती प्रादेशिक कार्यालय, काठमाडौं मातहतको वितरण केन्द्रहरूले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । उनीहरूकोे बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ । बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरूले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । उनीहरूकोे बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले महशुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । उनीहरूको बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरूले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ । कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।

प्राधिकरणले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महीनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउनुपर्ने प्रावधान छ ।

प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्धरूपमा विद्युत लाइन काटी बक्यौता महशुल असुलउपर गर्ने रणनीति लिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)