ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झिनियाँ बेचेर मनग्य आम्दानी, तिहारमा पाँच लाख कमाउने लक्ष्यमा उद्यमी !

२०८० कात्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । 

झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरीद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् । 

विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताइन् । ‘तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ । अहिले म जस्ता दर्जनौं महिला झिनियाँसहितका रोटीका परिकार विक्री गरेर मनग्य आम्दानी गरिरहेका छौं,’ उनले भने, ‘तिहारमा मात्रै रू चार/पाँच लाखको झिनियाँसहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।’

यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले रोटीका परिकारको विक्री भइरहेको बताइन् । उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिइन् । 

हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरि घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ । 

मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन् । ‘तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो,’ मिराले भनिन्, ‘पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।’ 

मिरासँगै उनका श्रीमान् र छोराले दशैंअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरू बनाइराखेका छन् । तिहारका समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरूले धान्दै आएका छन् । 

मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार विक्रीबाट रू सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिइन् । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उनको भनाइ छ ।

रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् । 

रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकाले समेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ । 

बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू दुई सय ५० र सानोमा रू एक सय ४० मा विक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर विक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू ८०, फिनी रू ७०, भेली रू ५० र नमकिन रू ५० मा विक्री भइरहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)