भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनःनिर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ ।
शुक्रवारको प्रदेश मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनःनिर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए । कार्यविधि बनाएर पुनःनिर्माणका काम थालिने जानकारी उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई रु दुई लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । अघिल्लो शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस