ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुल्यो 

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बाटो खोलिदिएको छ । कात्तिक २४ गते दिउँसो बसेको अर्थ समिति बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्थगित गर्न दिइएको निर्देशनको प्रयोजन समाप्त भइसकेको निष्कर्ष निकालेको हो । 

गत जेठ २९ गतेको अर्थ समिति बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्काललाई रोक्न निर्देशन दिएसँगै नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले उक्त प्रक्रिया रोकेको थियो । अर्थ समितिले करीब ५ महीनाको अध्ययन अनुसन्धानपछि नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

समितिका सभापति सन्तोष चालिसेले दिएको जानकारीअनुसार समितिले गत जेठ २९ गते नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि कामकारबाही अघि नबढाउन निर्देशन दिएको थियो । समितिले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गत जेठ २९ गते नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । सो निर्देशनपछि सम्बद्ध निकायहरूबाट कागजात माग गरी अध्ययन गर्दा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय सर्वोच्च अदालतमा समेत प्रवेश भई अन्तिम फैसला आइसकेकाले उक्त निर्देशनको प्रयोजन समाप्त भएको निष्कर्ष समितिले निकालेकोसभापछि चालिसेले जानकारी दिए । नयाँ लाइसेन्स वितरणका सम्बन्धमा बोर्डले सर्वोच्चबाटै सफाइ पाइसकेको अवस्थामा सरकारले पनि आवश्यक छानविन गरेको हो । अर्थ समितिले सर्वोच्चले नै सफाइ दिइसकेको विषय सरकारले रोक्न नहुने निष्कर्ष निकालेको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न २०७९ असोज २ गते आवेदन माग गरेको थियो । बोर्डले उक्त समयमा नयाँ स्टक एक्सचेन्जसँगै कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि समेत आवेदन माग गरेको थियो । बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीको आवेदन प्राप्त गरेको छ । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका हुन् । 

बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीको आवेदन प्राप्त गरेको छ ।

यी तीन कम्पनीमध्ये एकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्राप्त गर्नेछन् । नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब चुक्तापूँजी तोकिएको छ । कुल पूँजीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व हुनुपर्नेछ । नयाँ स्टक एक्सचेन्जले सञ्चालनमा आएको २ वर्षभित्र सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि भने नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडले आवेदन दिएका हुन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्ससँगै कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया पनि अघि बढ्ने बोर्डले जानकारी दिएको छ ।

ब्रोकर लाइसेन्सको प्रक्रिया पूर्णता पाउने चरणमा छ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीबाट आवेदन प्राप्त गरी ४३ कम्पनीलाई आशयपत्र प्रदान गरेकोमा हालसम्म ३७ लाई लाइसेन्स दिइसकेको छ ।

अर्थ समितिको निर्देशनमा सदस्यकै फरक मत 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन अर्थ समितिले दिएको निर्देशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थ समितिका सदस्य डा स्वर्णिम वाग्लेले फरक मत राखेका छन् । सदस्य वाग्लेले समितिको कात्तिक २४ गतेको निर्णयले गत जेठ २९ गतेको निर्णयलाई न्याय नहुने बताएका छन् । कात्तिक १६ गते नेपाल धितोपत्र बोर्डले आवश्यक सहजीकरण गरिदिन पठाएको पत्र समितिमा अग्रिम पेश नगरी, छलफल नगराई हतारहतार खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय भएको देखिने भएकाले चाडपर्वपछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने भन्दै सदस्य वाग्लेले फरक मत दर्ज गरेका हुन् ।

सांसदको आपत्ति 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेप्सेको पुन: संरचना नगरी नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेकोप्रति आपत्ति व्यक्त गरेका छन् । चाडपर्वको मुखमा अफ आवरमा अर्थ समितिको बैठक डाकी किन, कसको र कति पैसा लिएर विवादास्पद स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया नरोक्ने निर्णय गर्‍यो ? भन्दै सांसद ढकालले प्रश्न गरेका छन् । 

यसको हिसाबकिताब पक्कै पनि नेपाली जनताले माग्ने भन्दै उनले ‘दलालका मतियारहरूलाई हिसाबकिताब बुझाउन तयार भएर बस्न’ समेत भनेका छन् । विभिन्न पत्रपत्रिका र अनलाइन समाचारमा नयाँ स्टक एक्सचेन्जका लागि ६ अर्ब रुपैयाँको घूस डिल हुँदै छ भन्ने खबर बाहिरिएको उल्लेख गर्दै सांसद ढकालले भने, ‘तिम्रा घुस्याहा सपना पूरा हुँदैन ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)