ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेतीमा चार लेनको पुल शिलान्यास

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कास्की जिल्लास्थित पोखराको सेती नदीमाथि सिग्नेचर पुल बन्ने भएको छ । १ अर्ब १० करोड रुपैयाँ लागतमा सेती नदीमाथि ४ लेनको पुल बन्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिवार उक्त पुलको शिलान्यास गरेका छन् । उक्त पुल १९० मीटर लामो हुनेछ । २०८२ भदौ मसान्तभित्र निर्माण सम्पन्न गरिने उनको भनाइ छ । शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले समेत निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन् । ‘कुनै पनि बहानामा काममा ढिलाइ गर्न पाइँदैन,’ उनले भने, ‘समयमै काम सक्ने गरी सबै पक्षले सक्रियता देखाउनुपर्छ ।’ कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताइन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहमा आउने समस्या समाधान गर्न तयार रहेको बताए । एडीबीको ऋण सहयोगमा सञ्चालित सासेक मुग्लिन–पोखरा राजमार्ग सुधार चरण–१ योजनाअन्तर्गत पोखराको सेती नदीमा पुल निर्माण हुने भएको हो । 

पुलको शिलान्यास शनिवार भए पनि निर्माण सम्झौता भने २०७९ साउन २६ गते गरिएको थियो । पुल डिजाइन तथा निर्माण सम्झौता विधिअनुसार रसुवा कन्स्ट्रक्सन कम्पनीसँग सरकारले सम्झौता गरेको थियो । सम्झौता अवधिदेखि कम्पनीले ३ वर्षसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने शर्त छ । चार लेनको बन्ने उक्त पुलमा दायाँ र बायाँको पहुँचमा ५०० मीटरको सर्भिस लेनसहितको सडक पनि निर्माण हुनेछ । अहिले निर्माण व्यवसायी सम्झौताबमोजिम गर्नुपर्ने तयारी कार्यहरू सम्पन्न गरेर फिल्डमा जाने अवस्था रहेको बताइएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)