ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान चाप

२०८० कात्तिक, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार शुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान बढेको छ । ‘दशैंको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान चाप बढिरहेको छ,’ उनले भने । महापबन्धक तिवारीले अन्तरराष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए । 

दशैंको समय अर्थात् गत असोज २९ गते अन्तरराष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो । असोज ३० गते एकसय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तरराष्ट्रिय उडान भएको विमानस्थलको आँकडा छ ।

तिहार, छठलगायत चाडपर्वका साथै पर्यटकीय सिजन पनि चलिरहेकाले हवाई उडान बढेको तिवारीको भनाइ थियो । उनका अनुसार तिहार र छठका कारण आन्तरिकतर्फ हवाई यात्रुको चाप दैनिक बढ्दो छ । आन्तरिकतर्फ दैनिक दुई तर्फी गरेर तीन सय उडानमार्फत १४ देखि १५ हजार यात्रु आवतजावत गरिरहेका विमानस्थलका महाप्रबन्धक तिवारीले जानकारी दिए । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।
 
अन्तरराष्ट्रिय एयरलाइन्सको उडान थपियो

जाडो यामको नयाँ उडान तालिकामा अन्तरराष्ट्रिय एयरलाइन्सको उडान थपिएको छ । विमानस्थलका अनुसार कतार एयरवेज, फ्लाई दुबईलगायत एयरलाइनसले उडान बढाएका छन् । एयर ट्राफिक व्यवस्थापन गरेर उडान सहजीकरण भइरहेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका महाप्रबन्धक तिवारीले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)