ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मीपूजाको दिन विद्युत्को माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारत निर्यात

२०८० कात्तिक, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतवार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । 

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । 

लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो । 

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ  । गत वर्ष ३४२ मेगावाट थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतवार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए । 

कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे । 

जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो । 

प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९९७  मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो ।  

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । २०७३को लक्ष्मीपूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान शुरु गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन, देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात भइरहेको छ । 

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)