ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

२०८० कात्तिक, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

ढोरपाटन (बागलुङ) । कास्कीको माछापुछ्र‍ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ ओटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याए । तर सबै बिक्री हुनसकेनन् । ३५४ मात्रै बिक्री भए ।

दशैं सकिएपछि गुरुङले बाँकी रहेका ३४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आएका छन् । दशैंका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उनि साह्रै तनावमा देखिन्छन् । दशैंको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दशैंमा सबै बिक्री भएका गुरुङ बताउँछन् ।

'यसपाली सोचे अनुसार व्यापार भएन,' उनले भने । वर्षौँदखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उनि छन् । कम मूल्यमा दिन थालेपछि दशैंका तुलनामा यस बेला बढी बिक्री भएका छन् । अझै पनि उनिसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् ।

गुरुङलाई तिहारसम्म सबै भेडाच्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उनि १८ वर्षदेखि यही पेसामा छन् । दशैं तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यसवर्ष न्यूनतम रु ३० हजारदेखि रु ५८ हजारसम्म मूल्य छ ।

शहरबजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ । १ करोड ५० लाख रूपैयाँमा खरिद गरेको च्याङ्ग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाइ बेच्न बाध्य भएको गुरुङले बताए । दशैंका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उनले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताए । बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउँछन् ।

'मैले व्यवसाय थालेको धेरै वर्ष भयो तर अहिलेसम्म यस्तो कहिल्यै पनि भएको थिएन, पहिले–पहिले च्याङ्ग्रा झरे भने ग्राहकले बाटोमै कुरेर बस्थे, छानी–छानी किन्ने गर्थे, पहिलेको तुलनामा अहिले अलिकति महँगो पनि भएर होकी,' गुरुङले भने 'यसपाली त आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झण्डै भए एक महिना त गाउँमै दाना पानी खुवाएर पाले ।

पुथा उत्तरगङ्गा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपाली सोचे अनुसार भेडाबाख्रा बेच्न सकेनन् । ३४ वर्षदेखि भेडापालन गर्दै आएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाए । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उनको भनाइ छ । दशैंसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उनि बताउँछन् ।

गत वर्ष भेडाबाख्रा बिक्री गरेर  १५ लाख आम्दानी गरे पनि यसवर्ष आधा मात्र कमाइ भएको बुढा मगर बताउँछन् । न्यूनतम रु २० हजारदेखि अधिकतम रु ४२ हजारसम्ममा बिक्री गरेको उनले बताए । बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)