काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ । दाजुभाइ–दिदीबहिनीहरूले एकअर्कालाई टीका लगाएर यो पर्व मनाउने गर्छन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसलालगायतका खानेकुरा दिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार उपहार र दक्षिणा दिने परम्परा छ ।
भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
दाजुभाइ र दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाउने गर्छन् ।