ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच महीनापछि बैंकको ब्याजदर एकल अंकमा

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। स्वतन्त्र रूपमा ब्याजदर निर्धारण गर्न थालेको पाँच महीनापछि वाणिज्य बैंकहरूको ब्याजदर पुन: एकल अंकमा झरेको छ । निक्षेप बढेअनुसार कर्जाको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । 

नेपाल बैंकर्स संघले भद्र सहमतिमार्फत बैंकहरूमा एउटै ब्याजदर निर्धारण गर्दा गत वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत निर्धारण गरेको थियो । जेठ र असारमा सोही ब्याजदर लागू भए पनि साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी तोक्न पाउने निर्णय भयो । त्यसपछि ब्याजदर बढ्न थालेको थियो । 

तर, मङ्सिर महीनाका लागि भने अधिकांश बैंकले ब्याजदर एकल अंकमा झारेका छन् । दर्जनभन्दा बढी बैंकले कात्तिकको तुलनामा मङ्सिरका लागि ब्याजदर घटाएका छन् । मङ्सिरका लागि १४ ओटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० प्रतिशतभन्दा कम तोकेका छन् । 

मङ्सिरमा १३ ओटा बैंकले ब्याजदर घटाउँदा एउटाले बढाएको छ । ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । मङ्सिरका लागि सबैभन्दा बढी नेपाल एसबीआई, हिमालयन र माछापुच्छे्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर तोकेका छन् । उनीहरूले व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक १० दशमलव ६०३ प्रतिशतका दरले ब्याज दिने छन् । सबैभन्दा कम एन.आई.सी. एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक ८ दशमलव ९६८ प्रतिशत ब्याजदर तोकेको छ । 

कात्तिकको तुलनामा मङ्सिरमा सबैभन्दा बढी एन.आई.सी. एशियाले २ दशमलव ०३५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । यस्तै कात्तिकमा ब्याजदर वृद्धि गरेको एनएमबि बैंकले मङ्सिरमा भने १ दशमलव २४३ प्रतिशत विन्दुले घटाएको छ । कात्तिकको तुलनामा मङ्सिरमा माछापुच्छ्रे बैंकले मात्र ब्याजदर बढाएको छ । मुद्दती निक्षेपसँगै बैंकहरूले साधारण बचतको ब्याजदर पनि घटाएका छन् । कात्तिकमा वाणिज्य बैंकहरूले साधारण बचतमा अधिकतम ८ प्रतिशत ब्याजदर दिएकोमा मङ्सिरका लागि घटाएर ७ दशमलव ६० प्रतिशत कायम गरेका छन् ।

मङ्सिरमा साधारण बचत खातामा सबैभन्दा कम ब्याजदर एभरेष्ट बैंकको ५ प्रतिशत र सबैभन्दा बढी हिमालयन र माछापुच्छे्र बैंकको ७ दशमलव ६०३ प्रतिशत छ ।

ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साविकको दरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । बैंकहरूले विप्रेषणमार्फत आएको निक्षेपलाई एक प्रतिशत विन्दुले थप र संस्थागत निक्षेपकर्तालाई व्यक्तिगतको तुलनामा २ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था छ । 

पछिल्लो समय विप्रेषण आम्दानी बढेसँगै बैंकहरूमा निक्षेप बढिरहेको छ । तर, आर्थिक गतिविधिमा सुधार नहुँदा कर्जाको माग सुस्त छ । चालू आर्थिक वर्षको असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यही अवधिमा निक्षेप शून्य दशमलव ४ प्रतिशत र कर्जा प्रवाह १ दशमलव ३ प्रतिशतले बढेको थियो । तर, अघिल्ला महीनाहरूको तुलनामा कर्जाको माग बढ्न थालेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

बैंकहरूको आधारदरसँगै निक्षेप र कर्जाको ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले जनाएको छ । तरलता सहज भएपछि बैंकहरूले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् । 

कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । कात्तिक २१ गते बैंकहरूको औसत सीडी रेसियो ८१ दशमलव ३१ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्ने प्रावधान रहेकाले उनीहरूसँग करीब ६ खर्ब रूपैयाँ थप कर्जा प्रवाह गर्न सक्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ । 

बैंकमा निक्षेप वृद्धिसँगै अन्तरबैंक ब्याजदर पनि घट्न थालेको छ । कात्तिक २१ गते अन्तरबैंक ब्याजदर ३ दशमलव ९८ प्रतिशतमा झरेको छ । यसैगरी ट्रेजरी बिल्सको ब्याजदर पनि न्यून बिन्दुमा झरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)