ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ अर्ब ४१ करोडको दुग्ध पदार्थ मौज्दात

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । खपत घटेपछि दुग्ध पदार्थको मौज्दात झन् झन् बढेको छ । महीना दिनमै करीब साढे ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थपिएर कुल मौज्दात ९ अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । दुग्ध विकास बोर्डले दिएको जानकारीअनुसार महीना दिन अघिसम्म ६ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो । 

आर्थिक मन्दीका कारण दूधको खपत घट्नुका साथै उत्पादन पनि बढेकाले मौज्दात थपिँदै गएको हो । बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) सँग ४० करोड, डेरी उद्योग संघसँग ७ अर्ब ६० करोड र नेपाल डेरी एशोसिएशनसँग १ अर्ब ४१ करोड रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको जानकारी दिए ।

एक महीनामै थपियो साढे ३ अर्ब रुपैयाँ बराबरको दुग्ध पदार्थ 

उनका अनुसार सामान्यतया भदौ अन्त्यतिरबाट फागुनसम्म दूध उत्पादन बढ्ने सिजन हो । तर, यसवर्ष वैशाखदेखि नै उत्पादन बढेको थियो । यसले धूलो दूध र बटरको मौज्दात बढाएको देखिन्छ । पछिल्लो समय उन्नत नश्लका गाईभैंसीपालनमा किसानको सक्रियता, दूध उत्पादनमा स्थानीय र प्रदेश सरकारले देखाएको तदारुकता र वातावरणमा देखिएको उतारचढावका कारण समयअगावै दूध उत्पादन बढ्ने सिजन शुरू 

भएको चौधरी बताउँछन् ।

‘दूध उत्पादन बढ्नु राम्रो कुरा हो । तर, जसरी उत्पादनले उचाइ लिएको छ सोही अनुपातमा बजारमा खपत भइरहेको छैन । सामान्य अवस्थामा नेपालमा हरेक दिन करीब ७० लाख लिटर झोल दूध उत्पादन हुने गर्छ । यस वर्ष उत्पादन ४ प्रतिशतसम्मले बढेको देखिन्छ । बजारमा खपत भने १५ प्रतिशतले घटेको छ । यसले गर्दा मौज्दात दिन प्रतिदिन बढ्दो क्रममा छ,’ उनले भने ।

व्यवसायीहरू बजारमा झोल दूधको विक्री घट्दा पहिलेको मौज्दात धूलो दूध विक्री गर्न नसकेको र हाल किसानसँग किनेको झोल दूधलाई पनि धूलोमा परिणत गर्नुपर्ने अवस्था आउँदा मौज्दातको आकार बढेको बताउँछन् ।

पाँच महीना अघिसम्म विभिन्न डेरी उद्योगले दूध अभाव भएको भन्दै भारतबाट आयात गर्न दिन माग गरिरहेको अवस्थामा यति चाँडै आन्तरिक उत्पादनसमेत विक्री नहुने अवस्थामा पुग्नु नेपाली डेरी क्षेत्रका लागि चिन्ताको विषय रहेको सरोकारवाला बताउँछन् ।

अहिले बजारमा सबै वस्तुको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । यही बेला उपभोक्ताको आम्दानी स्थिर हुँदा क्रयशक्ति घटेर खपत कम भएको नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहाल बताउँछन् । उपभोक्ता पहिलेको जस्तो दिल खोलेर उपभोग गर्न सक्ने अवस्थामा नरहेको उनको बुझाइ छ । दूधको मौज्दात बढ्दै जाँदा एशोसिएशनले धूलो दूध र बटर बंगलादेश निर्यात गर्न अध्ययन गरेको थियो । यस क्रममा एशोसिएशनले विज्ञहरूको अध्ययन टोली बंगलादेश पठाएको थियो । हालसम्म बंगलादेशले दूध किन्ने/नकिन्ने विषयमा जवाफ नपठाएको दाहालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)