ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो चौमासमा २० प्रतिशत बजेट खर्च : बजेट घाटा ६० अर्ब रुपैयाँभन्दा माथि 

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चौमासिकमा कुल बजेटको २० दशमलव २७ प्रतिशत मात्रै खर्च भएको छ । सरकारी आम्दानी र खर्चको अभिलेख राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउनदेखि कात्तिक २९ सम्ममा सरकारले ३ खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा यस वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए । 

कुल बजेट र खर्चको अनुपात अघिल्लो आवको पहिलो चौमासिकको तुलनामा यस वर्ष केही बढी हो । गतवर्ष यस अवधिमा कुल बजेटको १९ दशमलव ९९ प्रतिशत खर्च भएको थियो ।

सरकारले यस वर्षका लागि चालू शीर्षकमा ११ खर्ब ४१ अर्ब छुट्ट्याएकोमा हालसम्म २ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गरेको छ । विनियोजित रकमको तुलनामा यो खर्च २३ दशमलव ७५ प्रतिशत हो । अघिल्लो वर्ष सरकारले पहिलो चौमासमा यो शीर्षकमा विनियोजित बजेटको २३ दशमलव ६७ प्रतिशत खर्च गरेको थियो । सरकारले चालू शीर्षकमा छुट्ट्याउने ठूलो रकम प्रशासनिक काममा खर्च हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा अहिले प्रशासनिक खर्च बढेको देखिएको छ । 

कुल बजेट र खर्चको अनुपात अघिल्लो आवको पहिलो चौमासिकको तुलनामा यस वर्ष केही बढी हो । गतवर्ष यस अवधिमा कुल बजेटको १९ दशमलव ९९ प्रतिशत खर्च भएको थियो ।

पूँजीगत बजेट भने खासै उत्साहजनक तवरले खर्च हुन सकेको छैन । सरकारले चालू वर्षका लागि ३ खर्ब २ अर्ब रुपैयाँ यो शीर्षकमा विनियोजन गरेकोमा हालसम्म २९ अर्ब रुपैयाँ खर्च गरेका छ । उक्त रकम यो शीर्षकको कुल विनियोजनको ९ दशमलव ९३ प्रतिशत हो । गतवर्ष पहिलो चौमासमा पूँजीगत शीर्षकको बजेट ६ दशमलव ७९ प्रतिशत खर्च भएको थियो । चालू आवको पहिलो चौमासको विकास बजेट खर्च पनि अघिल्लो वर्षको तुलनामा केही बढी हो । सरकारले विकास बजेटभन्दा वित्तीय व्यवस्थाको बजेट यो अवधिमा धेरै खर्च गरेको छ । यो शीर्षकमा सरकारले वर्षभरिका लागि ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ४ महीनामै ५४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । यो खर्च विनियोजित बजेटको १७ दशमलव ७२ प्रतिशत हो । अघिल्लो वर्ष पहिलो चौमासमा सरकारले यो शीर्षकमा ४३ अर्ब ३० करोड रुपैयाँ खर्चेको थियो । 

सरकारले चालू आवको बजेट ल्याउने बेला ६ प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्ने घोषणा गरेको थियो । तर, काम गर्ने शैली परिवर्तन नहुँदा पहिलो चौमासमा उत्साहजनक नतिजा नआएको हो । चालू आवको हालसम्ममा सरकारले लक्ष्यअनुसार राजस्वसमेत उठाउन सकेको छैन । पहिलो त्रैमाससम्ममा सरकारले लक्ष्यअनुसार राजस्व पनि उठाउन सकेको छैन । कात्तिकमा दशैंतिहार जस्ता चाडपर्व भएकाले राजस्व लक्ष्य प्राप्त हुन नसकेको देखिन्छ । महालेखाको तथ्यांकअनुसार कात्तिक २६ सम्ममा सरकारले २ खर्ब ९५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यो वार्षिक लक्ष्यको २० प्रतिशत हो । सरकारले गरेको आम्दानी र खर्चको हिसाब गर्दा यो ४ महीनाको बजेट घाटा ६० अर्ब १२ करोड रुपैयाँ पुगेको छ । 

सरकारले यो वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने घोेषणा गरेको छ । बैंक, वित्तीय संस्थामा अधिक तरलतासँगै अल्पकालीन ब्याजदर न्यून बिन्दुमा आएपछि सरकारले आन्तरिक ऋण भने लक्ष्यभन्दा बढी उठाइसकेको छ । चालू आवको पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको सरकारले ब्याजदर सस्तो भएपछि कात्तिक २० भित्रै ९७ अर्ब ३१ करोड रुपैयाँ उठाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)