ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपीडितका लागि इयु र अस्ट्रेलियाको ३४ करोडभन्दा बढी सहयोग

२०८० मंसिर, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। जाजरकोट र रुकुमपश्चिममा हालै आएको भूकम्पबाट प्रभावितका लागि युरोपेली संघ (इयु) र अस्ट्रेलिया सरकारले सहयोग घोषणा गरेका छन् । इयु र अस्ट्रेलिया सरकारले बिहीवार छुट्टाछुट्टै विज्ञप्तिमार्फत मानवीय सहायताको घोषणा गरेका हुन् । भूकम्पपछिको राहत तथा पुन:स्थापनाका लागि इयुले करीब २८ करोड ९८ लाख रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जनतालाई राहत पुर्‍याउन इयुले २० लाख युरो सहायता स्वीकृत गरेको हो ।

उक्त रकम भूकम्पपीडितको आश्रयस्थल निर्माण, सफा पानी तथा सरसफाइमा पहुँच र स्वास्थ्य सेवालगायतमा खर्च हुने बताइएको छ । भूकम्प प्रभावितका लागि पाल र जाडोका सामग्री समेत प्रदान गरिनेछ । ‘नेपाली जनता पुन: भूकम्पबाट प्रभावित भएका छन् । इयु अघिल्ला प्रकोपहरूमा जस्तै आवश्यकता परेकाहरूलाई सहयोग गर्न तयार छ,’ इयुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ सहायता प्याकेजले आफ्ना घर गुमाएका मानिसलाई आश्रय दिनेछ ।’

यसैबीच, अस्ट्रेलिया सरकारले पनि उक्त भूकम्प प्रभावितका लागि ६ लाख अस्ट्रेलियन डलर (५ करोड २० लाख रुपैयाँ बराबर) सहयोग गर्ने भएको छ । अस्ट्रेलियाको विदेशमन्त्री पेन्नी वोङले ट्वीटमार्फत उक्त जानकारी गराएकी हुन् ।

विद्यमान बहुपक्षीय र स्थानीय साझेदारीहरूमार्फत आपत्कालीन सामग्रीको आपूर्तिका लागि उक्त सहयोग परिचालन गरिनेछ । साथै स्वास्थ्य सेवा सुविधासहित क्षतिग्रस्त सार्वजनिक पूर्वाधार पुन:स्थापनाको प्रयासमा समेत सहयोग गरिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)